लहलहाउँदो ओलमा मुख मिठ्याउँदै किसान

रासस

शुक्रबार, २८ जेठ २०७८, १२ : ५९
लहलहाउँदो ओलमा मुख मिठ्याउँदै किसान

महोत्तरी । तराई—मधेशमा एउटा कहावत उखान छ, ‘भादोके ओल, की खाए राजा की खाए चोर’ अर्थात् भदौको ओल की राजा की चोरले नै खान सक्छन् । यो कहावतले नै ओलको महत्व दर्शाउँछ । भदौ निगल्दो र असोजमा उत्पादन लिइने ओल अन्य तरकारीभन्दा निकै महगो हुनेहुँदा यो हुनेखाने र चोरेर खानेले मात्र भेट्टाउँछन् भन्ने कहावत स्थापित भएको हो । 

दुई दशक अघिसम्म स्थानीय जातको ओलमात्र प्रचलनमा थियो ।घरबारी वरिपरि घु¥यानमा केही बोट लगाइने ओल निकै सप्रदा एक किलोसम्मको फल लाग्थ्यो । माटोमुनी फल्ने यसले तरकारी र चटनी अचार परिकारका लागि परापूर्व कालदेखि नै प्रसिद्धि पाउँदै आएको हो । 

विशिष्ट अतिथिका लागि ओलको तरकारी र चटनी खान दिने र खाने दुबैका लागि विशेष मानिने गरेको भेटिन्छ । ओलको तरकारी वा चटनीसहितको आतिथ्यता ग्रहण गरेका पाहुनाले “आज त ओलको परिकार खाइयो” भनेर दुईचार ठाउँ बखान गर्नु महोत्तरीसहित प्रदेश नं २ का सबैजसो जिल्लामा केही वर्ष पहिलेसम्म शानकै कुरा मानिने गरेको महोत्तरी भङ्गाहा नगरपालिका–४ का ८५ वर्षीय श्रीनारायण साह बताउछन । खान दिनेलाई पनि आज पाहुनालाई ओलको तरकारी÷चटनी खुवाइयो भनेर गर्व नै लाग्ने गरेको साहसहितका पाका व्यक्ति बताउँछन् ।

“करिब तीन दशक अघिसम्म ओलको परिकार आम सर्वसाधारणको पहुँचमा थिएन, हुनेखानेले मात्र खान्थे”, साह भन्नुहुन्छ, “घु¥यानमा केही बोट लगाएका गरीबगुरुवालाई त्यो बेचेर कैयौं सामान जोड्ने सपना हुन्थ्यो, आपूm नखाइ नखाइ बेच्थे ।” तर पछिल्ला वर्षहरुमा ओलको विकसित जातको खेती प्रचलनमा आएपछि यसले सबै वर्गका भान्सामा प्रवेश पाएको साह बताउछन । विकसित जातको खेती प्रचलनमा आएपछि अब महोत्तरीसहित आसपासका जिल्लामा यसले व्यवसायकै आकार लिइसकेको छ । महोत्तरीको उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा, औरही र गौशाला तथा सुदूर दक्षिणपूर्वी मटिहानी नगरपालिका यो खेतीका लागि उर्वर क्षेत्र मानिन्छन् । यी नगरक्षेत्रलाई कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरले ओलको ‘पकेटक्षेत्र’ नै मान्दै आएको छ । यस क्षेत्रका किसान ओल खेतीलाई महत्वका साथ नगद आर्जनको मुख्य स्रोत बनाएर तल्लिन भएका भेटिन्छन् ।

अहिले बारीमा हलक्क बढेर लहलहाएको ओलका बोट हेरेर किसानले कैयौं सपना साँचेका छन् । चाडपर्वमा जहान परिवारको मुख मिठ्याउने र नानीहरुका कैयौं रहर पुरा गर्ने आश र विश्वास यही लहलहाउँदो ओलको बोटमा रहेको बर्दिबास–१३ बिजलपुराका किसान रामप्रगाश महतो बताउछन। “हामी यही ओलको बोट हेरेर मुख मिठ्याउँछौ”, उनी भन्छन, “जहान परिवारको गुजरा र विशेष अवसरमा मिठो मसिनो खाने, राम्रो लाउने रहर यही बेचेर पुरा गर्नुपर्छ ।” 

प्रतिक्रिया दिनुहोस