ओली सरकारमा गएका सात मन्त्री कस्ता छन् ?

सफल खबर संवाददाता

विहीबार, २७ जेठ २०७८, १७ : २०
ओली सरकारमा गएका सात मन्त्री कस्ता छन् ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा १८ औं पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । ओलीले बिहीबार ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । योसँगै कामचलाउ सरकार २५ सदस्यीय बनेको छ ।

ओलीले विहीबार नियुक्त गरेका मन्त्रीमध्ये खगराज अधिकारीले गृह मन्त्रालयको जिम्मा पाएका छन् । बादलपत्नी नैनकला थापा सञ्चार मन्त्री बनेकी छिन् । त्यस्तै नारदमुनि राना वन, मोहन बाँनिया विना विभागीय, ज्वालाकुमारी साह कृषि, राजकिशोर यादव उद्योग, गणेश पहाडी सामान्य प्रशासन र आशा विक वन राज्यमन्त्री बनेका छन्  ।


खगराज अधिकारी : गृहमन्त्री

पोखरा महानगरपालिका ३१ स्थायी घर भएका अधिकारी एमालेका निवर्तमान सांसद हुन् । २०१८ चैत १३ मा जन्मेका उनका श्रीमती र एक छोरी छन् । अधिकारीको शैक्षिक योग्यता स्नातकोत्तर हो ।

२०२९ सालदेखि अनेरास्ववियुबाट राजनीतिक थालेका अधिकारी एमालेका पुराना नेता मानिन्छन् । २०३२ सालबाट कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका उनी २०४६ देखि २०५२ सालसम्म नेकपा मालेको कास्की जिल्ला सचिव थिए । २०६५ सालदेखि नेकपा एमालेको गण्डकी अञ्चल सचिव र अञ्चल इञ्चार्ज भए ।
२०५१ को मध्यावधि निर्वाचनबाट प्रतिनिधिसभा सदस्य बनेको अधिकारी तीनपटक सांसद बनेका व्यक्ति हुन् । २०५६ मा कास्कीबाट निर्वाचित उनी २०७४ मा कास्की १ बाट निर्वाचित भए । पार्टी एकीकरण पूर्व संसदमा तत्कालीन एमालेको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका अधिकारी २०७० सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए ।

राजकिशोर यादव : उद्योग मन्त्री

सिराहाका निवर्तमान सांसद एवं जसपाका नेता राजकिशोर यादव विहीबार दोस्रो चरणमा मन्त्रि नियुक्त भएका छन् । उनी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् ।

२०३० साल साउन १८ गते जन्मेका मन्त्री यादवका श्रीमती, दुई छोरा र एक छोरी छन् । श्रीमती सरिताकुमारी यादव पूर्वसभासद हुन् ।

इन्जिनियरिङ पढेका यादव २०६० सालदेखि मधेसी जनअधिकार फोरममा आबद्ध भई सक्रिय राजनीतिमा आएका हुन् । उपेन्द्य्र यादवको पार्टीबाट अलग भएपछि २०६७ सालमा फोरम गणतान्त्रिक निर्माण गरेर यादव अध्यक्ष बनेका थिए । उनको पार्टी राजपामा समाहित भयो र पछि राजपा र समाजवादी मिलेर जसपा बन्यो । २०७२ वैशाखमा मधेस केन्द्रित दलहरू एकीकृत हुँदा राजपामा उनी अध्यक्ष मण्डलको सदस्य थिए ।

संविधानसभा निर्वाचन २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सिरहाबाट यादव निर्वाचित भएका थिए । २०७४ को चुनावमा उनी सिरहा ४ बाट निर्वाचित भए ।


​नैनकला थापा : सञ्चार तथा सूचना प्रविधि मन्त्री

नैनकला थापा एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन् । २०५२ सालबाट माओवादीले सुरु गरेको जनयुद्धमा उनी पनि बादलसँगै भूमिगत भएकी थिइन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि उनले महिला आयोगको अध्यक्ष पद हात पारेकी थिइन् । बादलसँग उनको २०४० सालमा बिवाह भएको हो । बादल एमाले प्रवेशसँगै उनले एमाले नेतृत्वको कामचलाउ सरकारमा मन्त्री बन्ने अवसर पाइन् ।

ज्वालाकुमारी साह : कृषिमन्त्री 

पूर्वमाओवादी नेतृ ज्वालाकुमारी साह तत्कालीन नेकपा छुट्टिएपछि एमालेमा लागेकी हुन् । उनी २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा बारा ३ (क) बाट प्रदेश २ को प्रदेशसभामा निर्वाचित भएकी हुन् । माओवादी छाडेर एमालेमा आगेपछि उनको प्रदेसभा सदस्य पद गयो । तर, उनले संघीय सरकारको मन्त्री बन्ने मौका पाएकी छिन् ।

नारदमुनि राना : वनमन्त्री

कैलालीको धनगढी नगरपालिकाका नारदमुनि राना गत चुनावमा काँग्रेस नेतृ आरजु देउवालाई हराएर प्रतिनिधिसभा सदस्य बनेका थिए । हाल घट्टेकुलोमा बस्दै आएका उनी २०२९ बैशाख १९ गते जन्मेका हुन् । उनका श्रीमती, ३ छोरा र २ छोरी छन् । रानाले स्नातकोत्तर अध्ययन गरेका छन् ।

२०४३ सालमा अनेरास्ववियु पाँचौंको प्रारम्भिक कमिटीबाट राजनीति गरेका उनले २०४७ मा तत्कालीन एमालेको संगठित सदस्यता पाए । पार्टीको वडा सदस्य हुँदै नेकपा एमालेको केन्द्रीय कमिटीसम्मको जिम्मेवारीमा पुगे । ०७५ सालमा उनी नेकपाको केन्द्रीय सदस्य बने ।

राजनीतिमा होल टाइमर हुनु अघिसम्म कानुन व्यवसाय गरेका राना २०६४ मा एमालेका तर्फबाट समानुपातिक सभासद बनेका थिए । २०७४ मा कैलाली ५ बाट उनी प्रतिनिधिसभामा निर्वाचित भए ।

गणेशकुमार पहाडी : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

सिन्धुलीको फिक्कल गाउँपालिकामा जन्मेका गणेश पहाडी माधव नेपाल समूह छाडेर मन्त्री बनेका हुन् । श्रीमती, एक छोरी र एक छोरा रहेका उनले सिभिल इन्जिनियरिङका साथै  समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन् ।

अनेरास्ववियुबाट राजनीति सुरु गरेका पहाडीले २०४७ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरे । २०५१ मा नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क कमिटीको संयोजक बने । २०५२ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य भए । २०६५ नेकपा एमाले सिन्धुली जिल्ला सचिव भए । २०६६ मा सिन्धुली जिल्ला संयोजक ।

०७० मा सिन्धुली १ बाट संविधानसभामा निर्वाचित पहाडी २०७४ मा पुनः सिन्धुली १ बाटै प्रतिनिधिसभामा निर्वाचित भए । त्यसअघि पहाडीसँग २०५४ मा गाविस अध्यक्ष चलाएको अनुभवसमेत छ ।

मोहन बानियाँ : मन्त्री, विनाविभागीय

 २०२० साल माघ १५ गते मुगुमा जन्मेका मोहन बानियाँ विनाविभागीय मन्त्री बनेका छन् । श्रीमती, चार छोरा र एक छोरी रहेका बानियाँले स्नातकोत्तर अध्ययन गरेका छन् ।

२०३६ सालमा तत्कालीन महाकाली माविको स्ववियुको प्रारम्भिक कमिटी हुँदै राजनीति थालेका उनी २०६४ मा तत्कालीन एमालेको  मुगु जिल्ला कमिटी सचिव भए भने २०६९ मा उनी अध्यक्ष बने । २०७१ को नवौं महाधिवेशनबाट उनी एमालेको केन्द्रीय सदस्य बने ।


 

प्रतिक्रिया दिनुहोस