कोरोना दोस्रो लहर :  काभ्रेमा सय जनाको मृत्यु , सात हजार सङ्क्रमित

रासस

विहीबार, २७ जेठ २०७८, १२ : ५५
कोरोना दोस्रो लहर :  काभ्रेमा सय जनाको मृत्यु , सात हजार सङ्क्रमित

काभ्रे । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता करिब दुई महिनाको अवधिमा यहाँ १०० भन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ ।यही अवधिमा जिल्लामा सात हजारमा कोरोना सङ्क्रमण देखिएको जनाइएको छ ।

गत वर्ष कोरोना सङ्क्रमणबाट ४५ जनाको मृत्यु भएको थियो । हाल कोरोना सङ्क्रमणको दोस्रो लहरमा हालसम्म १०५ को मृत्यु भएको हो । कोरोना सङ्क्रमणबाट हालसम्म यहाँका १५० को मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र डिसीसिएमसीले जनाएको छ । जिल्लास्थित अस्पतालमा भने विभिन्न जिल्लाका उपचारार्थ ५७ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

केन्द्रका अनुसार हालसम्म जिल्लाका १० हजार १५३ मा कोरोना सङ्क्रमण देखिएको छ । यसमध्ये तीन हजार गत सालका सङ्क्रमित हुन् भने करिब सात हजार कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता करिब दुई महिना अवधिका हुन् । गत वर्षभन्दा बितेका दुई महिनामा दोब्बर बढी सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु भएको हो भने ७० प्रतिशत सङ्क्रमित वृद्धि भएका हुन् । तथ्याङ्कअनुसार हालसम्मका कूल सङ्क्रमितमध्ये ७९ प्रतिशत अर्थात् आठ हजार दुई सङ्क्रमणमुक्त, भइसकेका छन् ।

कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा सङ्क्रमण समुदायमा फैलिएका कारण धेरै सङ्ख्यामा सङ्क्रमण र मृत्यु भएको केन्द्रले जनायो । “सङ्क्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले भने । उनका अनुसार यसपालिको सङ्क्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्टमा ढिलाइ हुँदा सङ्क्रमण बढेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस