निर्माणाधिन खानेपानी आयोजना अवरुद्ध : आर्सेनिकयुक्त पानी पिउन बाध्य सुस्तावासी

रासस

विहीबार, २७ जेठ २०७८, ११ : ४८
निर्माणाधिन खानेपानी आयोजना अवरुद्ध : आर्सेनिकयुक्त पानी पिउन बाध्य सुस्तावासी

परासी । स्वास्थ्यका लागि हानिकारक मानिएको आर्सेनिकयुक्त पानी पिउन बाध्य भएका नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्तामा निर्माणाधिन खानेपानी आयोजनाको काम अवरुद्ध भएको छ ।  स्थानीयवासीबीचको आपसी विवादका कारण पाँच महिनादेखि सो आयोजनाको काम ठप्प भएकोे हो । 

सुस्ता गाउँपालिका—५ स्थित नारायणी नदीपारी सुस्ताका स्थानीयवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा खानेपानी आयोजना निर्माण थालिएको हो । २०७६ माघदेखि निर्माण शुरु भएको आयोजनाको काम गत माघ महिनादेखि अवरुद्ध रहेको खानेपानी तथा सरसफाई संस्था सुस्ताका अध्यक्ष मुन्सीकुमार हरिजनले जानकारी दिए । स्थानीय अगुवाहरुले नै काम गर्न नदिएको उनको गुनासो छ । संस्थामार्फत काम भइरहेकै बेला स्थानीय अगुवाहरुले नै अर्को उपभोक्ता समितिसमेत गठन गरेर आफूहरुले काम गर्न पाउनुपर्ने भन्दै विवाद झिकेपछि निर्माण कार्यमा बाधा पुगेको उनले बताए। 

लामो प्रयासपछि आएको खानेपानी आयोजनाको काम अलपत्र परेपछि सुस्तावासी चिन्तित भएका छन् । तीन वर्ष भित्र निर्माण सम्पन्न गरी सुस्तावासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने गरी आयोजनाको निर्माण थालिएको थियो । गत वर्ष बोरिङ्गको काम सफल भएपछि दुई डिप ट्युबेल गाडिएको संस्थाले जनाएको छ ।  यसवर्ष आयोजनाको क्षेत्र चारैतिरबाट पर्खालले घेर्ने, माटो पुर्ने र गेट निर्माण गर्ने कार्य भइरहेको थियो । “हामीले अहिलेसम्म रु ४१ लाखको काम सम्पन्न गरी थप निर्माण कार्य अघि बढाइरहेका थियौँ, तर अहिले आएर विवाद नमिल्दा काम ठप्प भयो”, अध्यक्ष हरिजनले भने।  

उक्त क्षेत्रमा खानेपानी ट्याङ्की निर्माणका लागि टेन्डर आह्वान भइसकेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए । “नेपाली भूमि रक्षा गर्दै आएका सुस्तावासीलाई आर्सेनिक र आइरनयुक्त पानी प्रयोग गर्नुपर्ने बाध्यता हटाई शुद्ध पिउने पानी उपलब्ध गराउन प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा काम भइरहेको छ”, उनले भने। पुरानो संस्थाले सम्झौता गरी काम अघि बढाइरहेका बेला अर्को उपभोक्ता समिति गठन भएपछि विवाद भएको बताउँदै अध्यक्ष पाण्डेले गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको रोहबरमाा दुवै समितिबाट प्रतिनिधित्व हुने गरी काम अघि बढाउने सहमति भएको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस