बालबालिकालाई सङ्क्रमणबाट जोगाउन आग्रह

रासस

बुधबार, २६ जेठ २०७८, २१ : ३५
बालबालिकालाई सङ्क्रमणबाट जोगाउन आग्रह

काठमाडौं । बर्दियामा कोरोना भाइरसको तेस्रो लहर फैलिए सबैभन्दा बढी बालबालिका सङ्क्रमित हुने जोखिम रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । चिकित्सकहरु यस्तो अवस्था आए सरकारी तयारी खासै नभएको गुनासो पोख्छन् । 

बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले दुई वर्षदेखि १६ वर्षसम्मका बालबालिकाका लागि अहिलेसम्म कुनै खोप नआएकाले उनीहरु बढी जोखिममा रहेको बताए ।

जिल्लामा हाल एक वर्षदेखि ११ वर्षसम्मका बालबालिका कोरोना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले बर्दियाको प्रमुख गोर्कण गिरीले जानकारी दिनुभयो  । स्वास्थ्य कार्यालय बर्दियाको प्रमुख गिरीले दिएको जानकारी अनुसार शनिबारसम्म २७ जना बालक र २२ जना बालिका सङ्क्रमित भएका छन् ।

कोरोना सङ्क्रमित बालबालिका होम आइसोलेसनमा बसेका छन् । दोस्रो चरणको कोरोना फैलिएपछि बर्दियामा १८२ जना बालबालिका निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये बालक ९६ र बालिका ८३ रहेका छन् । 

ठाकुरबाबा नगरपालिकामा—११ बालबालिका होम आइसोलेसनमा रहेका छन् । गुलरिया र बाँसगढी नगरपालिकामा आठ र आठ, बारबर्दियामा छ, राजापुरमा पाँच बालबालिका कोरोना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

बर्दियामा बाल चिकित्सकको अभाव छ । बालबालिकालाई सङ्क्रमण भए छुट्टै कोभिड अस्पताल पनि छैन । जिल्लामा एउटा पनि बालबालिकाका लागि विशेष अस्पताल नहुँदा स्थानीयवासी सास्ती भोग्न बाध्य छन् । 

कोरोना सङ्क्रमणको तेस्रो लहरले बालबालिकालाई बढी असर गर्ने भन्दै बालबालिका हेर्न चिकित्सक विज्ञहरूले अस्पतालमा निश्चित शय्या छुट्याएर आवश्यक तयारी गर्न सुझाव दिएका छन् । कोरोनाको पहिलो र दोस्रो लहरमा ‘हटस्पट’ बनेको लुम्बिनी प्रदेशको बर्दियामा बालबालिकालाई सङ्क्रमणबाट जोगाउन कुनै तयारी नहँुदा चिन्ता व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस