पुरानो नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्री श्रेष्ठको निर्देशन

रासस

बुधबार, २६ जेठ २०७८, १६ : ३९
पुरानो नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् ।

केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले सो पुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।

उनको सचिवालयका अनुसार मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको बुधबारको बैठकमा पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पनि निर्देशन दिएका छन् ।

‘तपाईंहरुले अनुगमन गर्नुस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्’ उनले बैठकमा निर्देशन दिएका थिए ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौं, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रक्रिया अघि बढाउनेछौं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस