खनाल–नेपाल समूहको कार्यकर्तालाई अपिल– ओलीको चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्नु

सफल खबर संवाददाता

आइतबार, २३ जेठ २०७८, १६ : १८
खनाल–नेपाल समूहको कार्यकर्तालाई अपिल– ओलीको चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्नु

काठमाडौँ । नेकपा एमाले झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालबाजीपूर्ण वार्ता गरेकाले भ्रममा नपर्न कार्यकर्तालाई अपिल गरेको छ । 

खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठकबाट पारित गरिएका १० बुँदे प्रस्तावमा ओलीले कार्यदलको औचित्यसमेत समाप्त गरी वार्तालाई दाउपेचको रुपमा दुरुपयोग गरेको उल्लेख छ । ‘पार्टी एकताका लागि अन्तिम समयसम्म हामीले गरेको प्रयासलाई अनेक बहानामा सार्थक हुन नदिइ पार्टीलाई एकताबद्ध राख्ने हाम्रो चाहनामा कुठाराघात गरिएको छ ।

हाम्रो तर्फका कार्यदलका संयोजकलाई पार्टी सदस्यबाटै कथित निष्कासन गरी केपी ओलीले कार्यदलको औचित्यसमेत समाप्त गरी वार्तालाई दाउपेचको रुपमा दुरुपयोग गर्ने र वार्ताको औचित्य समाप्त गर्ने काम गर्नु भएको छ,’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ, ‘यस्तो स्थितिमा जबसम्म पार्टी एकताका लागि हामीले लिखित रुपमा दिएको पत्रमा उल्लेखित कुराहरु विश्वसनीय रुपमा पूरा हुँदैनन् तबसम्म वार्ता फगत समय कटाउने चालमात्र ठहरिनेछ । चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न सम्बद्ध सबैसँग आग्रह गर्दछौं ।’

बिहीबार र शुक्रबारको केन्द्रीय कमिटी बैठकमा आएका सुझावलाई समेत समेटेर शनिबारको स्थायी कमिटी बैठकले १० बुँदे प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्ताव आइतबार सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस