उदयपुरमा कोरोना संक्रमणबाट एक सातामै एकै परिवारका ३ जनाको मृत्यु

पत्रपत्रिकाबाट

विहीबार, २० जेठ २०७८, ०८ : १७
उदयपुरमा कोरोना संक्रमणबाट एक सातामै एकै परिवारका ३ जनाको मृत्यु

उदयपुर । उदयपुरमा कोरोना भाइरसबाट एक सातामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई छोराको मृत्युकाको शोकमा रहेकै बेला बिहीबार बिहान ४:२५ बजे रौतामाई गाउँपालिका ७ मुर्कुचीकी ७१ वर्षिया आमा तिलमाया मश्राङ्गी मगरको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए । 

दुई साताअघि कोरोना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालको आईसोलेसन वार्डमा राखी उपचार गरिएको आफन्त विरेन्द्रकुमार मगरले बताए । सामान्य उपचारपछि बिरामीको आग्रहमा उनलाई होमआइसोलेसनमा लगिएको थियो । 

यसअघि श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरमा उपचारको क्रममा दुई छोराको मृत्यु भएको थियो । जेष्ठ १५ गते साईलो छोरा ४५ वर्षीय तुलबहादुर मश्राङ्गीको विराट मेडिकल कलेज र १८ गते जेठो छोरा ५० वर्षीय पुस्कल मश्राङ्गीको नोवेल शिक्षण अस्पतालमा मृत्यु भएको थियो । 

दुबैलाई आईसियुमा राखेर उपचार गर्दा गर्दै कोरोनाले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले जानकारी दिए । दुई साता अघि एकै पटक घरका तीन दाजुभाई र आमामा कोरोना पोजेटिभ देखिएपछि उनीहरु आँखा अस्पताल गाईघाटको आईसोलेसन वार्डमा उपचार गर्दै थिए । योसँगै उदयपुरमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस