भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, दोषीलाई कारबाहीको माग

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, १३ : ००
भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, दोषीलाई कारबाहीको माग

नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि भएको भौतिक आक्रमणको विरोधमा उत्रेका स्वास्थ्यकर्मीले दोषीलाई कारबाहीको माग गरेका छन्। दोषीलाई कारबाही र सुरक्षाको माग गर्दै अस्पतालमा आजबाट नयाँ बिरामी भर्ना नलिने निर्णय गरिएको छ।

ड्युटीमा खटिएका स्वास्थ्यकर्मीले दोषीलाई कारबाही नभएसम्म नयाँ बिरामी भर्ना नगर्ने भन्दै विरोध जनाएका छन्। 

‘अहिले अस्पतालमा बैठक बसिरहेको छ। अहिले भर्ना भएका बिरामी मात्र हुनुहुन्छ। हामीलाई सुरक्षाको ग्यारेन्टी र दोषीलाई कारबाही नभएसम्म नयाँ बिरामी भर्ना नगर्ने भन्नुभएको छ। हामी बाहिर छौँ, कोभिड आइसीयूकी स्टाफ नर्स यमकुमारी थापाले भनिन्।

दाङका एमाले नेता मानबहादुर रावतका दाईको उपचारचारका क्रम बिहीबार राति मृत्यु भएपछि नेता रावत, मृतकका छोरोलगायतका आफ्न्तले कोभिड आइसीयू कक्षमा प्रवेश गरी चिकित्सक तथा नर्सलाई ज्यान मार्ने उद्देश्य सहित हातपात गरेको अस्पतालले जनाएको छ।

रावतले सामाजिक संजालमा समेत स्टाटस लेख्दै मृत्युको बदला लिने उल्लेख गरेका छन्।

‘ज्यान मार्ने उद्देश्य सहित मृतकका आफ्न्तहरु आइसियुमा छिरेर तोडफोड गरी हाम्रा नर्स र डाक्टरमाथि आक्रमणमा उत्रिए। केही स्टार्फले ज्यान जोगाउन माथिल्लो तलामा हाम फाल्नुभयो। यहाँ निकै दुखद घटना भयो। हामी सबै आत्तिको अवस्था छ,’ भेरी अस्पतालका सुपरीडेन्डण्ट डाक्टर प्रकाश थापाले भने।

भेरी अस्पतालमा पछिल्लो तीन सातामा चौथो पटक ड्युटीमा खटिएका नर्स तथा चिकित्सकमाथि भौतिक आक्रमण भएको छ। तर, हरेक पटक पावरको बलमा एक जना दोषीलाई पनि कारबाही भएको छैन।

भेरी अस्पतालका कोभिड अस्पतालका फोकल पर्सन डाक्टर संकेत रिजालले पहिलो पटक आक्रमण गर्ने दोषीलाई कारवाही नभएपछि अन्य पटक पनि घटना दोहोरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस