प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाई आजबाट संवैधानिक इजलासमा शुरु हुँदै

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, ०९ : ०९
प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाई आजबाट संवैधानिक इजलासमा शुरु हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा शुक्रबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा हिजो भएको सुनुवाई पछि १९ वटै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश भएको थियो ।

कानुन व्यवसायीहरुले अधिकांश रिट  सार्वजनिक सरोकारको विषयको अधिकार प्रयोग गरेर दायर गरेका छन् । प्रधानन्यायधिस राणाको एकल इजलासले पठाएका १९ र संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएका ११ वटा रिट उपर आजबाट  सुनुवाइ हुनेछ ।

विघटनविरुद्ध ३० वटा निवेदन दर्ता भएका छन् । रिट निवेदकले तत्कालिन संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । शुक्रवार बस्ने संवैधानिक इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश दिने की नदिने भन्नेबारे निर्णय गर्नेछ । 

 संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित ५ जना न्यायाधीश हुन्छन् । प्रधान न्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गर्ने कानुनी व्यवस्था छ । संसद पुनः स्थापना गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनका १ सय ४६ जना सांसदले हस्ताक्षरसहित निवेदन दर्ता गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । राष्ट्रपतिको सो कदमको चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस