प्रतिनिधिसभा विघटनका १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, १४ : ३१
प्रतिनिधिसभा विघटनका १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश जारी भएको छ ।  बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले पठाउने निर्णय गरेका हुन् । सर्वोच्चमा आज देउवाको पक्षका १४ र चुनावको पक्ष तथा केपी ओलीलाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै ४ परेका चारवटा रिटमाथि सुनुवाइ भएको हो ।

शुक्रबार संवैधानिक इजलास बस्दैछ । देउवासहित विघटित प्रतिनिधिसभाका १४६ सांसदले दायर गरेको रिटमाथि पनि शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ हुँदैछ । आजको बहसमा रिट निवेदकको तर्फबाट अधिवक्ता दिनेश त्रिपाठी, लोकेन्द्र ओली, सुनील कुमार पटेल, बद्री भट्ट, अजय बुढाथोकी, तुलसी पराजुली, वीरभद्र जोशी लगायतले बहस गरेका थिए  ।

उनीहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जिकिर गरेका थिए भने प्रधानमन्त्रीबाट यसअघिको सर्वोच्चको फागुन ११ को फैसला उलंघन भएको समेत दावी गरेका थिए ।  यस्तै केही अधिवक्ताले बजेट रोक्न समेत अन्तरिम आदेश दिन माग गरेपनि त्यसमा अहिले केही गर्न नसकिने र जे गर्छ संवैधानिक इजलासले नै गर्ने भन्दै प्रधानन्यायाधीश राणाले टारिदिए । 

यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग निवेदनमा गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस