कोरोना कहर : जोखिममा गर्भवती र सुत्केरी

रासस

आइतबार, ०९ जेठ २०७८, १४ : ०९
कोरोना कहर : जोखिममा गर्भवती र सुत्केरी

ओखलढुंगा ।जिल्लामा कोरोेना कहरको सबैभन्दा बढी मारमा गर्भवती र सुत्केरी परेका छन् । विश्वभर फैलिइरहेको कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि अहिले देशका केही बाहेक सबै जिल्लामा निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण यो समयमा धेरैलाई समस्या छ, त्यसमा पनि गर्भवती तथा सुत्केरी महिलाहरु भने सबैभन्दा बढी समस्यामा परेका हुन् ।

गर्भवतीलाई नियमित गर्भ परीक्षण गराउन नपाउँदा र सुत्केरीलाई घरैमा प्रसूती गराउँदा हुने प्रसव पीडा र आवश्यक स्याहार प्राप्त हुन नसक्दा उनीहरु शारीरिक मात्रै होइन मानसिक समस्यामा समेत परेका छन् ।ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिका– १ मोलीकी भगवती थापा मगरलाई कोरोनाको सङ्क्रमण बढेसँगै यो सङ्क्रमण गाउँघरसम्मै फैलिने चिन्ता त छँदैछ । त्यो भन्दा पनि ठूलो चिन्ता त निषेधाज्ञाको प्रभावले गर्दा प्रसूतिका लागि स्वास्थ्य संस्थासम्म जान सहजै सवारी साधन नपाउने तथा स्वास्थ्य संस्थामा सहज सेवा पाइँदैन कि भन्नेमा छ । 

स्वास्थ्यकर्मीले उनको  प्रसूति हुने अन्तिम मिति यहि जेठ २२ गतेको दिएका छन् । ‘‘अब पोषिलो खाने कुरा, फलफूल किन्न बाहिर जान पनि समस्या छ । घरमै भएको खानेकुरालाई मिलाएर खाने गरेको छु ।’’ उनले भनिन्, ‘‘पछि स्वास्थ्य संस्थासम्म जाने बेलामा समयमा यातायात सहजै पाए त हुन्थ्यो । फेरि कोरोनाको डरले स्वास्थ्य संस्थामा पनि राम्रो सेवा पाइदैन कि भन्ने लाग्छ ।’’ उनी जस्तो समस्या जिल्लाका सबैजसो गर्भवती र सुत्केरी महिलाहरुमा छ ।  

स्वास्थ्यकर्मीले मोलङ्ग गाउँपालिकाको राँगादिप कि याङदु शेर्पालाई प्रसूति हुने मिति जेठ १९ गतेलाई दिएका छन् । निषेधाज्ञाको पालना गरेर बसेकी उनी  गाउँघरमा पाइने सागसब्जीको सेवनलाई बढाएर पौष्टिक आहारको मात्रा पु¥याउने प्रयत्न गरिरहेकी छिन। पहिलो सन्तान सामुदायिक अस्पताल ओखलढुंगामा जन्माएकी उहाँलाई दोस्रो सन्तान पनि अस्पतालमै जन्माउन मन छ । कोरोनाको कहर र निषेद्याज्ञाका कारण समयमा अस्पताल पुग्न नसकिने हो वा अस्पतालमा झन जोखिम मोल्नुपर्ने हो कि भन्ने उनलाई लागिरहेको छ ।

‘‘पहिलो नानी अस्पतालमा जन्माएकोले सजिलो भयो, सुरक्षित पनि भयो । यो पनि अस्पतालमै जन्माउने चाहाना छ ।’’ उनले भनिन् , ‘‘तर अस्पतालमा कोरोनाका बिरामी धेरै हुने भएकाले झन सङ्क्रमणले छुन्छ कि भन्ने डर पनि छ । फेरि अहिले त गाडीहरु चल्न दिएको छैन कसरी अस्पताल जानु ?’’ जिल्लामा एम्बुलेन्स अभाव भएकाले भाडाका सवारी चल्न नपाउँदा बिरामीलाई अस्पताल जान समस्या छ ।

प्रतिक्रिया दिनुहोस