कम्पनीले अक्सिजन नदिंदा सरकारी अस्पताललाई समस्या

रासस

शुक्रबार, ०७ जेठ २०७८, १३ : ३७
कम्पनीले अक्सिजन नदिंदा सरकारी अस्पताललाई समस्या

भक्तपुरौं । कोभिड–१९ का बिरामीको उपचार गर्दै बिरामीको भरोसाको केन्द्र बन्दै आएको भक्तपुर अस्पतालमा अक्सिजन अभाव हुँदा शय्या सञ्चालनमा समस्या परेको छ । अक्सिजन कम्पनीहरुले सरकारले तोकेको कोटा बराबर पनि अक्सिजन नदिंदा र अक्सिजनको खपत बढी हुँदा अस्पतालले निकै समस्या झेल्नु परेको बताइएको छ । 

अस्पतालले कोभिडका बिरामीका लागि ८० शय्या छुट्याए पनि अहिले ५० जना बिरामीको उपचार भइरहेको छ । अस्पतालका लागि दैनिक २०० सिलिण्डर अक्सिजन आवश्यकता भए पनि दैनिक ९० सिलिण्डर पाउन पनि मुश्किल परेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डन्ट डा .सुमित्रा गौतमले बताईन । भेन्टिलेटरमा रहेका बिरामीलाई तीब्र गतिमा अक्सिजन दिनुपर्दा एक बिरामीका लागि २४ घण्टामा पाँच सिलिण्डर अक्सिजन सकिने तर अक्सिजनको आपूर्ति भने कम हुँदा समस्या आएको अस्पतालको भनाइ छ ।

भक्तपुर अस्पतालका लागि सरकारले कान्तिपुर उद्योगसँग दैनिक ४०, सोपन उद्योगसँग दैनिक ३० र सगरमाथा उद्योगसँग दैनिक ५० सिलिण्डर अक्सिजन उपलब्ध गराउने गरी कोटा निर्धारण गरेपनि ती उद्योगले तोकेको भन्दा ५० प्रतिशत कम अक्सिजन उपलब्ध गराउने गरेका छन् । सगरमाथाले दुई दिन नदिएको र अधिकांशले अक्सिजन नै पुग्दैन भनेर कम दिने गरेका छन् । अस्पतालले विगतमा जनकपुर, निजगढ, ककनीदेखि पनि अक्सिजन ल्याएकामा अहिले ती ठाउँबाट पनि अक्सिजन आउन छाडेका छन् ।

निःशुल्क सेवा दिदै आएको सरकारी अस्पताललाई भन्दा निजी अस्पताललाई अक्सिजन उद्योगहरुले तोकिएको कोटाभन्दा बढी अक्सिजन दिने गरेको पाइएको छ । एक निजी अस्पतालका सञ्चालकले उद्योगहरुलाई बढी पैसा तिरेर अक्सिजन ल्याउने गरेको बताएका छन् । निजीले बढी पैसा दिने भएकाले अक्सिजन उद्योगहरुले सरकारीलाई भन्दा निजी अस्पताललाई निर्धारित कोटाभन्दा बढी अक्सिजन दिने गरेको निजी अस्पताल सञ्चालकहरुकै भनाइ छ ।

प्रतिक्रिया दिनुहोस