चिकित्सक नपाउँदा कोभिड अस्पताल सञ्चालनमा समस्या

रासस

शुक्रबार, ०७ जेठ २०७८, ११ : २२
चिकित्सक नपाउँदा कोभिड अस्पताल सञ्चालनमा समस्या

बैतडी । बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका छन् । सङ्घीय सरकारले गत वर्ष नै बजेट विनियोजन गरेर स्थापना गर्न लगाएका ती कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका हुन् । सङ्घीय सरकारले गत माघमै स्थानीय तहमा पाँच शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि बजेट पठाए पनि पुर्चौँडी नगरपालिका, पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाहेकका स्थानीय तहले मेडिकल अधिकृत पाउन नसकेका हुन् । अस्थायी कोरोना अस्पतालमा भनेअनुसारको जनशक्ति नहुँदा समस्या भएको हो ।

जिल्लाको सिगास गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा चिकित्सकका लागि तीनपटक आवेदन आह्वान गरेको भए पनि हालसम्म चिकित्सक पाउन नसकेको जनाएको छ । चिकित्सकका लागि तीनपटकसम्म आवेदन आह्वान गरेको भए पनि हालसम्म पनि चिकित्सक पाउन नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए । अस्थायी अस्पतालमा एक चिकित्सक, दुई स्टाफ नर्स, एक सहयोगीको दशरबन्दी रहेको तर सिगासमा अहिले एक स्टाफ नर्स कार्यरत रहेको बताइएको छ । चिकित्सक पाउनै मुस्किल भएपछि गाउँपालिकामा भएकै जनशक्तिबाट अस्पताल सञ्चालन गरिरहेको बोहराको भनाइ छ ।

जिल्लाको मेलौली नगरपालिकाले पनि अस्थायी कोरोना अस्पतालका लागि पटकपटक जनशक्ति माग गरिएको भए पनि चिकित्सक नपाइएको जनाइएको छ ।सुर्नया गाउँपालिकाले वासुलिङ्ग स्वास्थ्यचौकीमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको भए पनि चिकित्सक नपाउँदा एक स्टार्फ नर्समात्रै रहेको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए। जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाले पनि अस्थायी कोरोना अस्पतालका लागि आवश्यक जनशक्ति नपाएको जनाएका छन् । कोभिडका बिरामी बढ्दै गए पनि स्थानीय तहमा सञ्चालनमा आएका अस्थायी कोरोना अस्पतालमा चिकित्सक अभाव छ । यसले गर्दा उनीहरूको उपचारमा समेत समस्या भइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस