‘नेजल भ्याक्सिन’ नेपालमै बनाउन सकिने डा.सिंहको दावी

रासस

शुक्रबार, ०७ जेठ २०७८, ११ : १५
‘नेजल भ्याक्सिन’ नेपालमै बनाउन सकिने डा.सिंहको दावी

काठमाडौं । पूरै दक्षिण एशिया यतिबेला कोरोना महामारीको चपेटामा छ । भारतमा दैनिक ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित फेला पर्ने क्रम जारी छ । नेपालमा पनि कोरोनाको दोस्रो लहरपछि झण्डै एक लाख २० हजारको हाराहारीमा कोरोना सङ्क्रमित फेला परिसकेको छ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल चार लाख ८८ हजार ६४५ जना कोरोना पोजेटिभ देखिएका छन् । यो बिहीबारसम्मको तथ्याङ्क हो । 

यस्तै, तीन लाख ६६ हजार ९४६ जना निको भएका छन् । ज्यान गुमाउनेको सङ्ख्या ५ हजार ८४७ छ । कोरोनाको दोस्रो लहर अघिल्लोभन्दा निक्कै सङ्क्रामक रहेको जनस्वास्थ्यकर्मीहरुको भनाइ छ । सङ्क्रमणको चक्र तोड्न सरकारले निषेधाज्ञा लागू गरिरहेको छ । तर पनि सङ्क्रमितको सङ्ख्यामा कमी आउन सकेको छैन । सरकारले नेपालमा भेटिएको कोरोनाकोे पछिल्लो प्रजाति असाध्यै खतरनाक र सङ्क्रामक भएको जनाएको छ । 

सरकारले यसबीचमा कोरोनाको खोप ल्यायो । भारतबाट अनुदानमा दिएको १० लाख डोज र चीनबाट आएको आठ लाख खोप प्रयोग भइसक्यो । सरकारले भारतको सिरम इन्स्टिच्यूटबाट २० लाख डोज खोप किन्ने सम्झौता गरेकामा १० लाख डोज मात्रै आयो र बाँकी तत्काल नआउने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग खोप उपलब्ध गराइदिन आग्रह गर्दैआउनु भएको छ । बिहीबार मात्रै प्रधानमन्त्रीले बेलायती राजदूतलाई खोप उपलब्ध गराइदिन आग्रह गरेका थिए । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कूल २१ लाख १३ हजार ८० जनाले कोरोनाको पहिलो मात्रा खोप लगाएका छन् भने चार लाख २६ हजार ५१० जनाले दोस्रो मात्रा खोप लगाएका छन् । नेपालले खोप आयात गरेको भारतको सिरम इन्स्टिच्यूटले आगामी पुस मसान्त अगाडि खोप दिन नसक्ने बताइसकेको छ । उसले नेपाललाई मात्रै नभई बङ्गलादेशलाई समेत त्यस्तै जानकारी गराएको छ । 

नेपाल सरकारले चीनबाट खोप ल्याउने तयारी गरिरहेको छ । खोप आइसकेपछि व्यवस्थित रुपले लगाइदिने प्रयोजनका लागि अनलाइनमार्फत् फाराम समेत भराउन थालिसकेको छ । 

नेपालमा सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढ्दो छ । अस्पतालमा शय्या पाउन मुस्किल छ । अक्सिजनको अभाव पनि उस्तै छ । यस्तो विषम अवस्थामा पनि सहज उपलब्ध हुनसक्ने एउटा विकल्प रहेको डा। समर्थ सिंहको दावी छ । 

प्रतिक्रिया दिनुहोस