माओवादीले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने, सीसीएमसी खारेज गर्न माग

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १४ : ५४
माओवादीले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने, सीसीएमसी खारेज गर्न माग

file-photo

काठमाडौं । कोभिड रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामहरूबारे नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सीसीएमसी खारेजीको मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए ।

‘सरकारले कोभिडकाबारेमा काम गर्दा के के कुरामा ध्यान दिनुपर्छ भनेर शुक्रबार ज्ञापनपत्र बुझाउने निर्णय भएको छ’, नेता पुनले भने, ‘सीसीएमसी खारेज गर्नुपर्छ त्यो अनावश्यक संयन्त्र भयो ।’ माओवादीले सीसीएमसीले काम गर्न नसकेको भन्दै खारेज गरेर कानुनले चिनेको प्रधानमन्त्रीको नेतृत्वको विपद व्यवस्थापन समिति या गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्ने सुझाव समेत दिने भएको छ ।

त्यस्तै माओवादी केन्द्रले कोभिड नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन पनि माग गर्ने भएको छ । कोभिड नियन्त्रणमा सरकार पुरै असफल भएको र स्वास्थ्य सामाग्री खरिददेखि वितरणसम्ममा भएको अनियमितताको निन्दा गर्दै माओवादीले स्वास्थ्य उपकरणहरुको अविलम्ब व्यवस्था गर्न माग गरेको छ ।

माओवादी बैठकले अत्यावश्यक बाहेकका राजनीति नियुक्तिहरु रोक्न तथा अनुपयुक्त क्षेत्रको खर्च घटाएर कोभिढ नियन्त्रणमा जुट्न सरकारसँग माग गरेको छ । ‘संक्रमणको पहिलो र दोस्रो लहरबाट सरकारले शिक्षा लिएको देखिएन । अहिले तेस्रो लहर आइसक्यो । त्यसैले पहिलेबाट शिक्षा लिदै तेस्रो लहरबाट जनतालाई बचाउन पर्याप्त गृहकार्य र तयारी गर्नुपर्ने आवश्यक्ता छ’, नेता पुनले भने, ‘ हामी त्यसका लागि सरकारलाई झक्झक्याउँछौ ।’

माओवादी आफै क्रियाशील हुने

कोभिड नियन्त्रण तथा रोकथाममा माओवादीले सिंगो पार्टी पंक्ति परिचालन गर्ने भएको छ । अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन गरेको कोभिड नियन्त्रण युनिटले सातै प्रदेश, सबै जिल्ला र सबै पालिका र वडाहरूमा ५ दिनभित्र कमिटीहरु गठन गरेर यसको रोकथाममा पार्टी परिचालन गर्ने निर्णय गरेको नेता पुनले जानकारी दिए ।

‘ति कमिटहरुले जनतामा सचेतना फैलाउने, विरामीहरुलाई सहजीकरण गर्नेछौ । साथै हाम्रा ५ हजार भन्दा बढि जननिर्वाचित प्रतिनिधिहरू, केन्द्र र प्रदेशसहितका निर्वाचित पदाधिकारी  र पार्टी सदस्यहरुबाट पारिश्रमिक कटाएर कोष खडा गर्ने निर्णय भएको छ’, पुनले भने, ‘त्यो रकमले औषधि उपकरण खरिददेखि,संकलन वितरण गर्ने तयारी भएको छ ।’माओवादी केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गरेर निर्णयहरु सार्वजनिक गर्ने जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस