काठमाडौँका बढी भिडभाड हुने स्थानमा कोरोना परीक्षण तीव्र

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, ०८ : ११
काठमाडौँका बढी भिडभाड हुने स्थानमा कोरोना परीक्षण तीव्र

काठमाडौं । हरेक दिन कोभिड–१९  सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ । कोभिडको सङ्क्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न कामपा र  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्तरूपमा एन्टिजेन परीक्षण थालेका हुन् ।

परीक्षणका क्रममा मङ्गलबार कालीमाटी तरकारी बजारमा ४०२ जनामा एन्टिजेन परीक्षणमा गरिएकामा १२ जनामा पोजिटिभ देखिएको कामपाले जनाएको छ । आज टुकुचा तरकारी बजारमा परीक्षण गरिने छ । स्वास्थ्य मन्त्रालय र सीसीएमसीले पहिचान गरेका उच्च सङ्क्रमणको सम्भावना रहेका स्थानहरुमा परीक्षण शुरु गरिएको हो । यस किसिमको परीक्षण १० हजार जनामा गर्ने लक्ष्य रहेको छ ।

कामपा स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले परीक्षणबाट आएको नतिजाले लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएका बिरामीलाई होम आइसोलेशनमा बस्न तथा निगरानी गर्न सहज हुने बताए । उनका अनुसार कामपाको सहकार्यमा धेरै सङ्क्रमित भएका असन, डिल्लीबजार न्युरोड, बालुवाटार र कोटेश्वरमा परीक्षण गरिने छ भने भक्तपुरको भक्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायरलगायतका स्थानमा सम्बन्धित स्थानीय तहको सहकार्यमा एन्टिजेन परीक्षण हुनेछ । 

कामपाले कोरोनाका बिरामी बढेसँगै पिसिआर विधिबाट पनि परीक्षणलाई तीव्र बनाएको छ । गत शनिबारसम्म स्वाब सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ । कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनासम्ममा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस