बाँकेमा घट्यो कोरोना सङ्क्रमण

रासस

मंगलबार, ०४ जेठ २०७८, १३ : ०९
बाँकेमा घट्यो कोरोना सङ्क्रमण

बाँके।बाँकेमा तीव्रगतिमा फैलिएको कोरोना भाइरस महामारीको सङ्क्रमण केही दिनयता घट्दै गए पनि अस्पतालमा भर्ना भएका सङ्क्रमितको मृत्युदर भने घट्न सकेको छैन । सोमबार शिक्षण अस्पताल कोहलपुर र बागेश्वरी ल्याबमा कूल ३६३ जनाको पिसिआर परीक्षण गर्दा १४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार १४९ सङ्क्रमितमध्ये बाँकेका ४० पुरुष र ३५ महिला गरी ७५ जनामा सङ्क्रमण देखिएको हो । 

यसअघि प्रयोगशाला रिपोर्टमा कोरोना सङ्क्रमण दर दैनिक रुपमा ७० देखि ८५ प्रतिशतसम्म पुग्ने गरेको थियो । सोमबार सङ्क्रमित हुनेभन्दा कोरोना जित्नेको सङ्ख्या धेरै भएको छ । ७५ जना सङ्क्रमित थपिँदा सोमबार १७५ पुरुष र १९० महिला गरी ३६५ जनाले कोरोना निको भएको स्रोतव्यक्ति वलीले बताए ।

सङ्क्रमित हुनेको सङ्ख्या घटे पनि मृत्युदर भने घट्न सकेको छैन । कोरोना सङ्क्रमणबाट बाँकेमा सोमबार मात्र १३ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाका १० र बाँकेका तीन जनाको मृत्यु भएको हो । बाँकेमा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा जेठ १० गतेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । 

 गत वैशाख ९ गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । बाँकेमा कोरोना सङ्क्रमणका कारण २२५ जनाको अकालमै ज्यान गएको स्रोतव्यक्ति वलीले जानकारी दिए । उनका अनुसार, बितेको वैशाख महिनामा मात्रै १७२ जनाको मृत्यु भएको छ । यो अवधिमा दश हजार ११४ जना सङ्क्रमित भएका छन् भने छ हजार ४७० जना निको भएका छन् । बाँकेमा शुरुदेखि वैशाख मसान्तसम्ममा १५ हजार ७२ जना सङ्क्रमित भएकामा ११ हजार १७२ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस