एचडियु सेवा सञ्चालन भएपछि बिरामीलाई सहज

रासस

मंगलबार, ०४ जेठ २०७८, ११ : ३६
एचडियु सेवा सञ्चालन भएपछि बिरामीलाई सहज

नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको एक स्थानीय तहले छुट्टै भवन बनाएर एचडियु मिनी आइसियु सेवासहितको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएपछि कोरोना सङ्क्रमित बिरामीलाई सहज भएको छ । जिल्लाको बर्दघाट नगरपालिकाले चिसापानीस्थित ढेंडारीफाँटमा कोरोना कहरकैबीचमा अस्पताल भवन बनाएर बीस श्ययाको आइसोलेशन सञ्चालन गरेको हो । सेन्टरमा अहिले गम्भीर प्रकृतिका बिरामीको उपचार भइरहेको छ । जिल्लामा एचडियु सेवा नहुँदा बुटवल, भैरहवा र भरतपुरका अस्पतालमा जानुपर्ने बाध्यता थियोे । 

नगरपालिकाले गत वर्षको असारमा कोभिड–१९ महामारीकै बीचमा आइसोलेशन भवन निर्माण शुरु गरेर अहिले आइसोलेशन पुनः सञ्चालनमा ल्याएको हो । दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना महामारीका कारण अस्पतालहरूमा श्यया र अक्सिजन अभावमा अकालमै मृत्यृवरण र उपचारमै समस्या भोग्नु परेको बेला बर्दघाट नगरपालिकाले जिल्लामै पहिलो एचडियुसहितको सुविधासम्पन्न आइसोलेशन सञ्चालनमा ल्याएको नगरप्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए ।

बर्दघाटमै सञ्चालनमा रहेको सरकारी स्वामित्वको चिसापानी अस्पतालको आफ्नै जग्गा र भवन नहुँदा सञ्चालन कठिनाइ हुँदै आएको थियो । पहिलो चरणमा करीब रु ७५ लाख र दोस्रो चरणमा करीब रु २० लाखको लागतमा उक्त भवन बनाइएको हो । नगरप्रमुख बस्यालले कोभिड महामारीलाई लक्षित गरी स्वास्थ्य क्षेत्रको पहुँच बढाउन आवश्यक देखिएकाले नयाँ भवन बनाएरै आइसोलेशन सेन्टर बनाइएको बताए। 
 

प्रतिक्रिया दिनुहोस