बागलुङका स्थानीय तहद्वारा ५५ लाखको कोरोना कोष स्थापना

रासस

सोमबार, ०३ जेठ २०७८, २० : ४२
बागलुङका स्थानीय तहद्वारा ५५ लाखको कोरोना कोष स्थापना

काठमाडौँ । कोरोना महामारीसँग जुध्न बागलुङका दश स्थानीय तह एक जुट भएका छन् । स्थानीय तहले  संयुक्त रुपमा रु. ५५ लाखको कोरोना कोष स्थापना गरेका छन् । सोमबार बसेको जिल्लाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको वैठकबाट जिल्लाका सबै पालिकाले संयुक्त रुपमा  सङ्कटसंग जुध्न  कोष स्थापना गरेका हुन् । 

कोषमा बागलुङ नगरपालिकाले रु. १० लाख र   र अन्य पालिकाले रु. पाँच लाखका दरले जम्मा गर्ने निर्णय भएको हो । पालिकाले संयुक्त रुपमा स्वास्थ्य सामाग्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन र शव व्यवस्थापन लगायतका कोरोनासंग सम्बन्धीत काममा खर्च गर्नका लागि संयुक्त रुपामा कोष स्थापना गरिएको बागलुङ नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

“स्थानीय तहले आ–आफ्नै ढंगले तयारी थाल्नुभएको छ, त्यो प्रयाप्त छैन, किनभने कोरोना दर निकै बढ्दो रहेको छ” उहाँले भन्नुभयो “कतिपय कुरा स्थानीय तह एक्लैले नसक्ने अवस्था छ, एम्बुलेन्स, शव वाहन लगायतका सवारी सञ्चालनमा समेत साझेदारिताका लागि कोष स्थापना गरिएको हो ।”

जिल्लाको गलकोट, जैमिनी , ढोरपाटन नगरपालिका, निसीखोला  तमानखोला, बडिगाड , ताराखोला, बरेङ तथा काठेखोला  गाउँपालिकाले बागलुङ नगरपालिकाको समन्वयमा स्थापना गर्न थालिएको कोषमा पाँच लाखका दरले जम्मा गर्नेछन् ।

कोषमा जम्मा भएको रकम सङ्क्रमितको उपचार गराउदै आएको धौलागिरी अस्पतालसंग समन्वय गरी खर्च गरिनेछ । यस्तै बैठकले स्वास्थ्यकर्मीको दरबन्दी परिपूर्तीको लागि  संघ तथा प्रदेश सरकार संग आग्रह गरिएकाृ छ । कोरोनाको पहिलो लहरमा समेत बागलुङका दश स्थानीय तहले संयुक्त रुपमा कोरोना संग जुध्न कोष स्थापना गरी काम गरेका थिए उक्त काम  प्रभावाकारी भएको थियो यसैले  दोस्रो लहरका लागि कोष स्थापना गरिएको काठेखोलाका अध्यक्ष अम्मर बहादुर थापाले जानकारी दिए । 

अहिले शव व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले अस्थायी शव वाहनको व्यवस्थापन गरेको छ । नगरपालिकाको शव वाहन नगरपालिका भित्र मात्रै सेवा नदिएर जिल्लाभर सेवा दिन तत्पर रहेको  नगरपालिकाले जनाएको छ । अहिले दश पालिकाका ४० कोरोना सङ्क्रमित धौलागिरी अस्पतालको आइसोलेशनमा उपचाररत् छन् । 

प्रतिक्रिया दिनुहोस