कोरोना कहरले सुत्केरीलाई सास्ती

रासस

सोमबार, ०३ जेठ २०७८, १६ : १९
कोरोना कहरले सुत्केरीलाई सास्ती

टीकापुर । कोरोना महामारी फैलिएपछि सुत्केरी व्यथा लागेका महिलालाई सेवा पाउन सकस भएको छ । कैलालीको टीकापुर अस्पतालमा आइसियु सेवा सञ्चालन हुन नसकेका कारण आइसियु आवश्यक पर्ने आमा र बच्चालाई उपचार पाउन सकस भएको हो । 

गत बुधबार टीकापुर–१ की ललिता जैसी व्यथाले च्यापेपछि टीकापुर अस्पतालमा आईन । अस्पतालले उनको स्वास्थ्य परीक्षण गरेपछि बच्चा सानो भएकाले आइसियु आवश्यक पर्नसक्ने भन्दै नेपालगञ्ज रेफर ग¥यो । व्यथा लागेकी महिला बोकेर परिवारका आफन्त नेपालगञ्ज पुगे तर ललिताले नेपालगञ्ज भर्ना पाइनन्। दिनभर नेपालगञ्न नर्सिङ होम बाहिर कुरे पनि भर्ना पाइएन ।

 ‘‘अस्पतालले कोरोना परीक्षण गर्नुपर्ने भन्यो, कोरोनाको रिपोर्ट आउन गर्भवती भए पनि कम्तीमा २४ घण्टा लाग्ने बतायो’’, सुत्केरी ललिताले भनिन, ‘‘व्यथाले थलिएकी म बाहिर राखेर कसरी कुर्नु ? मसँग गएका आफन्तले मलाई फेरि टीकापुर फर्काए, मैले त अब बाच्दिन भन्ने मात्र सोचिरहेँ ।’’

टीकापुर फर्केर परिवारका सदस्यले फेरि टीकापुर अस्पतालमै ल्याए । टीकापुर अस्पतालका स्त्रीरोग विशेषज्ञ गौरी रिजालको टिमले शल्यक्रिया गरि बच्चा निकाल्योे । ‘‘डाक्टर रिजालले हिम्मत गरेका कारण धन्न बच्चा र आमालाई ठीक छ । आइसियु आवश्यक परेन’’, सुत्केरीका एकजना आफन्तले भने, ‘‘आइसियुमा राख्नुपर्ने अवस्था आएको भए हामी के गथ्र्यौं ? टीकापुरमै यी सबै सुविधा भए सुत्केरीलाई राहत हुन्थ्यो ।’’

ललिताको जस्तो कठिनाई यहाँ दैनिकजसो कुनै न कुनै सुत्केरी व्यथा लागेका वा सुत्केरीपछि स्वास्थ्यमा समस्या भएका महिलाले भोगिरहेका छन् । जानकी गाउँपालिकाकै एक सुत्केरी व्यथा लागेकी महिलालाई उच्च रक्तचापको समस्या भएकाले स्वास्थ्य संस्थाले उनलाई पनि नेपालगञ्ज पठायो । उनका आफन्तले कोहलपुर मेडिकल कलेज लगे । त्यहाँ कोरोना संक्रमितको मात्र उपचार हुने भनेपछि उनीहरुले नेपालगञ्ज लगे । ति महिला र तिनका आफन्तले पनि ललिताको जस्तै नियती भोगे । 

सुत्केरीलाई भर्ना लिन नमानेपछि उनीहरु पनि यहीँ फर्किए । टीकापुर फर्केर मरे मरौँला, बाँचे बाचौँला भन्दै यही सेवा लिएँ । ‘‘यहाँ जोखिम हुनसक्छ भन्दै डाक्टरले बाहिर पठाए, हामी पनि आत्तिएर गयौँ तर दुःख मात्रै भयो’’, पाँच दिनकी सुत्केरी महिलाले भनिन, ‘‘सरकार छ, सुविधा छ तर अझैँ अर्को ज्यान जन्माउने महिला जोखिममै छन् । हाम्रा लागि आवश्यक सबै सुविधाको व्यवस्था गर्नु पहिलो प्राथमिकता हो भनेर बुझेको देखिएन ।’’
 

प्रतिक्रिया दिनुहोस