भजनी । कोरोनाको महामारीमा पनि ठूलो जोखिम मोलेर बिरामीहरुको सेवामा लागेका एम्बुलेन्स चालकहरुको पीडा निकै मर्मस्पर्शी रहेको छ । महामारीको समयमा सबै जना घरमा सुरक्षित भएर बस्दा सङ्क्रमित हो भन्ने थाहा पाउँदापाउँदै पनि बिरामीका लागि दौडिरहेका एम्बुलेन्स चालकहरु आफूलाई भन्दा बढी चिन्ता यो समयमा आफ्नो परिवारको रहेको बताउने गर्दछन् ।
कैलालीको टीकापुरका लोकेन्द्रबहादुर ठकुरी टीकापुर अस्पतालको एम्बुलेन्स चलाउछन । त्यो पनि कोरोना सङ्क्रमितलाई बोक्नको लागि मात्रै । शुरुआती दिनहरुमा निकै अप्ठ्यारो भएको बताउदै लोकेन्द्रले अहिले आफूलाई त्यस्तो असजिलो अनुभव नभएको बताउँछन। उनले भने, “कारोनाका बिरामी बोकदाबोक्दै कतै आफू पनि सङ्क्रमित त भएको छैन भन्ने आशङ्का भने जहिले नै हुने गर्दछ । आफ्नै कारणले परिवारका सदस्यलाई समेत सङ्क्रमण हुने हो कि भन्ने चिन्ता लाग्ने गर्दछ ।”
“पहिले त धेरै डर लाग्थ्यो । कामै सङ्क्रमित बोक्ने भएपछि विस्तारै सबै डर हराएको छ ।” लोकेन्द्रले भने “डर त्यतिबेला लाग्छ जतिबेला घर जाने समय हुन्छ । आफ्नोभन्दा बढी अरुलाई सर्ने हो कि भन्ने हुन्छ ।” लोकेन्द्रको चार जनाको परिवार छ । “अस्पतालले बस्नको लागि कोठाको सुविधा त दिएको छ । खाना खान घरै जानुपर्छ । घर जादा छुट्टै घरबाहिरबाटै खाना खाएर निस्कन्छु ।” लोकेन्द्रले भने “सबैभन्दा बढी चिन्ता छोराछोरीको हुने गरेको छ । छोराछोरी नजिक परिहाल्छन् । दिनभर सङ्क्रमित बोकेर घर जादा घरमा पनि त्रास हुन्छ । आफूलाई पनि ।”
अस्पतालमा कोरोना सङ्क्रमितलाई बोक्नको लागि छुट्टै एम्बुलेन्स छ । प्रायः अन्य एम्बुलेन्स गाउँबाट सङ्क्रमित ल्याउनुपर्ने भए जाँदैनन् । थप उपचारका लागि अन्यत्र पठाइएका बिरामीलाई भने अन्य एम्बुलेन्सले नै बोक्ने गरेका छन् ।टीकापुरका कृष्णबहादुर शाही २०६४ देखि टीकापुर अस्पतालको एम्बुलेन्स चलाउँदै आएका छन्।
यतिबेला कोरोनाका बिरामी बोक्नु पर्दा उनलाई पनि आफ्ना कारणले परिवारका अन्य सदस्यलाई सङ्क्रमित हुने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । आफूमा त त्यस्तो त्रास नभएपनि घरपरिवार भने सधैँ त्रासमै रहेको शाही बताउछन । “हामी एम्बुलेन्स चालक सबैभन्दा बढी जोखिममा छौँ । दिनभर बिरामी बोक्नुपर्छ । साँझ घर पुग्दा घरमा त्रासको वातावरण हुन्छ ।” शाहीले भने, “हामी त जोखिममा छौँ नै हाम्रा कारणले परिवार समेत जोखिममा छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०३ जेठ २०७८, १४ : ०२
लेखकबाट थप