कैलाली । कैलालीको जानकी–६ की रूपा विकलाई साँझबिहानको समयमा सधैँ तरकारी के पकाउने भन्ने पिर रहन्छ । ज्यालादारी काम गर्ने रूपाको काम गुमेको एक महिना पुग्न थालेको छ । ज्यालादारी गर्न नपाएपछि उहाँको भान्सामा तरकारीसमेत राम्रो पाकेको छैन । दिनभरी ज्याला मजदुरी गरेर घर चलाउने दम्पती नै बेरोजगार बनेको छ ।
कोरोना महामारीको डरले न उनीहरु काममा जान सकेका छन् न उनीहरुलाई काम दिनेहरुले नै काममा बोलाएका छन् । “श्रीमान् छोराछोरीसँग खेल्छन्, चिन्ता नगर भन्छन् तर मलाई भान्सामा पकाउने तरकारी नहुँदा तनाव हुन्छ”, रूपाले भनिन , “लकडाउन हुँदैछ भनेपछि किनेर राखेको चामल पनि सकिन थालेको छ । छोराछोरीको विद्यालय बन्द भएपछि उनीहरु पनि घरमै छन् । विगतभन्दा अहिले घरमा दिनमा चार पटक खानेकुरा पाक्छ । आर्थिक समस्या भएकाले तरकारी, दाल सकिएको छ । के पकाउनु भन्ने चिन्ता बढेको छ ।”
जानकी–४ की तेतरानी चौधरीको घरमा त अन्न पनि सकिन थालेको छ । एकल महिला तेतरानीका चार सन्तान छन् । सबै खाउँखाउँ र लाउँलाउँ उमेरका छन् । घर निर्माण कार्यमा सहयोगीको काम गर्ने तेतरानीको समेत काम बन्द भएको छ । निर्माण व्यवसायीले लकडाउनपछि सङ्क्रमणको जोखिम बढ्यो भन्दै काम बन्द गरेपछि तेतरानीको चुल्हो बल्ने अवस्था छैन । “शुरुका केही दिन छिमेकीसँग सापटी मागेर खाइयो, जिल्ला प्रशासन कार्यालय कैलालीले एक सातामात्रै बन्द गर्छ होला जस्तो लागेको थियो तर लकडाउन लम्बिँदै गयो”, तेतरानी भन्छिन , “भोक लाग्छ, केटाकेटी खान खोज्छन्, यस्तै रहे के खाने भन्ने चिन्ता बढेको छ । कसैले काम दिएको भए म त काममा फर्कन्थेँ ।”
टीकापुर–८ की धौली साउदको परिवार कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएपछि स्वदेश फर्किएको छ । भारतमा महामारी फैलिएपछि रोजगारी गुम्दा उहाँको परिवार स्वदेश फर्किएको हो । भारतमा रहेका नेपालीले यातायात खर्च सहयोग गरेर स्वदेश फर्किएको धौलीको परिवारलाई यहाँ छाक टार्न समस्या भएको छ । “नेपाल फर्किएपछि छिमेकीले चामल सहयोग गरे, बस्नलाई घरमात्र छ तर तरकारी खाने बारी छैन”, साउदले भने, “किसानको तरकारी बारीमै सडेका खबर आउँछन्, त्यसरी बजार नपाएको, सडिरहेको तरकारी हामीलाई उपलब्ध गराइदिए छाक टार्न सजिलो हुन्थ्यो । हाम्रो नि भोक मेटिन्थ्यो ।”
महिला अधिकारकर्मी निर्मला कडायत भान्सा व्यवस्थापनको जिम्मेवारी बढी महिलाले लिने भएकाले परिवारको पेट कसरी भर्ने ? भन्ने चिन्ता महिलालाई हुनु स्वाभाविक भएको बताउछन्। “आर्थिक सङ्कटका बेला परिवारका सदस्यहरु पनि मितव्ययी भइदिनुपर्छ, अनावश्यक माग गर्नु हुँदैन”, कडायत भन्छन, “अति समस्यामा रहेका परिवारलाई स्थानीय सरकारले हेर्न आवश्यक छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०३ जेठ २०७८, ११ : ३९
लेखकबाट थप