चितवनमा पाँच जना कोरोना सङ्क्रमितको मृत्यु

रासस

विहीबार, ३० बैशाख २०७८, १२ : २१
चितवनमा पाँच जना कोरोना सङ्क्रमितको मृत्यु

चितवन । जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । 

यही वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या जटिल भई वैशाख २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान २ः०० बजे मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचाररत तनहुँका ४१ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । तनहुँको व्यास नगरपालिका– १ का उनी यही वैशाख २६ गते निमोनियाको समस्या भई उपचारका लागि अस्पताल भर्ना भएका थिए । सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएका उनको उपचारका क्रममा कोभिड सघन उपचारकक्षमा आज बिहान १ः४२ बजे मृत्यु भएको हो ।

सोही अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका–८ का ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २२ गते अस्पताल भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा उनको बुधबार राति १०ः२६ बजे मृत्यु भएको हो ।

पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर–३ का ४८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २९ गते अस्पतालमा भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा उनको बुधबार राति १०ः१० वजे मृत्यु भएको हो ।

सोही अस्पतालमा उपचारका क्रममा कपिलवस्तुका सङ्क्रमितको मृत्यु भएको छ । शिवराज नगरपालिका–९ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई वैशाख २७ गते अस्पतालमा भर्ना भएका उनमा वैशाख २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचारकक्षमा उनको बुधबार राति ९ः४५ बजे मृत्यु भएको हो । मृतक सबैको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको छ ।