हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा रहेको गल्फागाड प्रहरी चौकी श्रीनगरले सोमबार आठ हजारभन्दा धेरै मूल्य बराबरको घरेलु मदिरा उत्पादन गर्ने कच्चापदार्थ नष्ट गरेको छ । दिनहुँ मदिरा सेवनका कारण घटना हुने अदानचुली गाउँपालिकाको मुख्य केन्द्र रहेको श्रीनगर बजारलगायत नजीकका गाउँहरुमा खोजी गरी घरघरमा राखिएको घरेलु मदिरा उत्पादन गर्ने कच्चापदार्थ नष्ट गरेको गल्फागाड प्रहरी चौकीले जनाएको छ ।
लामो समयसम्म जानकारी गराउँदा गराउँदै पनि सूचनाको अभग्या गरी घरघरमा घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण गरेको पाइएकाले बाध्य भएर खोजतलास गरेर नष्ट गर्नु परेको चौकीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बुढाले बताए । प्रहरी सहायक निरीक्षक बुढाले भने , “यसमा अदानचुली गाउँपालिकाले पनि प्रतिबद्धता जनाएपछि हामीलाई खोजतलास गर्न सजिलो भयो ।”
सुरक्षा टोलीले अदानचुलीको वडा २ र ३ मा सोमबार मात्र छापा मार्दा अवैध रुपमा घरको छतमा भण्डारण गरेर राखिएको आठ हजार ३८० लिटर घरेलु मदिरा उत्पादन गर्न तयारी कच्चापदार्थ जनप्रतिनिधिको समन्वयमा सुरक्षा टोलीद्वारा नष्ट गरेको छ । दुवै वडाका गाउँ सुरक्षा टोलीले चारैतिरबाट दुई÷दुई जनाको टोली बनाएर एक टोलमा एकै समयमा छापा मारी घरेलु मदिरा उत्पादन गर्ने कच्चापदार्थ नष्ट गरेको त्यहाँका स्थानीयवासीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २८ बैशाख २०७८, १३ : ५०
लेखकबाट थप