बलेवा । कोरोना सङ्क्रमणले बजार क्षेत्र ठप्प छन् । शैक्षिक संस्था, वित्तीय संस्था र निजी क्षेत्र पूर्णरुपमा बन्द भएको बेला विकास निर्माण भने नियमित भइरहेका छन् । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर काम गर्ने अनुमति दिएपछि विकास योजना नियमित चलेका हुन् ।विशेषगरी ठूला आयोजनामा नियमित काम भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको हो । “कामलाई रोकिएको छैन, निर्माण सामग्री ढुवानीमा पनि सहज वातावरण छ, त्यसैले समयमा सक्नेगरी काम भइरहेका छन्”, डिभिजन कार्यालयका प्रशासन प्रमुख नारायण शर्माले भने, “कोरोना सङ्क्रमणको जोखिमसँग भने ख्याल गर्न लगाएका छौँ ।”
मालढुङ्गाादेखि कुश्मीसेरा जाने सडक, बुर्तिवाङदेखि ढोरपाटन जाने वैकल्पिक सडकलगायत ठूला आयोजनामा नियमित काम भएको उनले बताए । गत वर्ष पहिराले बगाएपछि बोबाङ हुँदै जाने ढोरपाटन सालझण्डी सडक आयोजनाको काम पूरा हुन नसक्ने देखिएको छ । वर्षात्मा सडक अवरुद्ध हुन सक्ने आँकलन भइरहेको बेला गादीखोला छेन्टुङ ढोरपाटन सडकमा काम भएको हो । जिल्ला समन्वय समितिमार्फत गरिएको अनुगमनमा पनि नियमित काम भएको देखिएको उपप्रमुख विष्णु भुसालले बताए ।
“पहिला पनि काम भएको रहेछ, अहिले पनि नियमित काम भइरहेको छ”, भुसालले भन्नुभयो, “काम पनि राम्रो गरेको भेटियो ।” ढोरपाटन नगरपालिका–५ को गादीखोलादेखि वडा नं ६ को तोगाडि छेन्टुङ हुँदै वडा नं ९ को ढोरपाटन आरक्ष पुग्ने २० किमी सडक निर्माण भइरहेको हो । अहिलेसम्म यो सडकको झण्डै १७ किमी ट्र्याक खुलिसकेको छ । त्योमध्ये १० किमी सडक चालु वर्षदेखि नै ग्राभेल गर्ने र आगामी वर्ष कालोपत्र गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालयका सब–इन्जिनीयर प्रकाश श्रीषले बताए । तल्लोखण्ड कालोपत्रका लागि ठेक्कासमेत गइसकेको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २८ बैशाख २०७८, १३ : ४६
लेखकबाट थप