निजी प्रयोजनको बाहानामा जथाभावी सालको रुख कटान

रासस

मंगलबार, २८ बैशाख २०७८, १३ : २०
निजी प्रयोजनको बाहानामा जथाभावी सालको रुख कटान

गोरखा । गोरखा नगरपालिका–१३ स्थित वनदेवी सामुदायिक वन क्षेत्र आसपासमा निजी वनका नाममा जथाभावी सालको रुख कटानी भएको पाइएको छ । स्थानीयवासीले वनमा सालको काठ लुकीछिपी काटेर राखेको अवस्थामा भेटेपछि डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए ।

काठ स्थानीयवासी सुर्दशन शाहीले आफ्नो निजी प्रयोजनका लागि भन्दै काटेर थुपारेर राखेको अवस्था भेटिएको कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए । प्रमुख श्रेष्ठले थुपारिएर राखिएको काठ कहाँबाट काटेको भन्ने कुरा अनुसन्धान भइरहेको बताए ।

‘‘निजी वनको हो कि सामुदायिक वनबाट काठ काटिएको हो भन्ने स्पष्ट भइसकेको छैन,” प्रमुख श्रेष्ठले भने । शाहीले थुपारेर राखेको भनिएको स्थानमा करीब २९ थान साढे ३१ क्युफिट काठ फेला परेको अनुसन्धानमा खटिनु भएका रेन्जर बद्री देवकोटाले जानकारी दिए ।
       
शाहीले सामुदायिक वनसंग जोडिएको क्षेत्रमा बिना अनुमति आफ्नो निजी वन भन्दै सालको रुख कटानी गरेको पाइएको हो । उनले घर बनाउनका लागि काठ काटेको भनिएपनि स्थानीयवासीले काठ बिक्री वितरणका लागि काटेको आशङ्का गरेका छन् ।  

कानूनमा निजी वन नै भएपनि सालका काठ अनुमति बिना काट्नका लागि प्रतिबन्ध लगाइएको छ । रुख काटिएको क्षेत्रमा अन्य कुकाठका रुखहरु पनि ढलिरहेको अवस्थामा भेटिएको स्थानीयको भनाइ छ ।  
 

प्रतिक्रिया दिनुहोस