जनप्रतिनिधिका सवारी नै एम्बुलेन्स !

पत्रपत्रिकाबाट

मंगलबार, २८ बैशाख २०७८, ०८ : २४
जनप्रतिनिधिका सवारी नै एम्बुलेन्स !

काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिले कोरोना (कोभिड–१९) सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि आफू चढ्ने सवारीसाधन सङ्क्रमित बोक्न र स्वास्थ्य प्रयोजनका लागि प्रयोग गर्न थालेका छन् । सङ्क्रमित एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा उनीहरूकै करबाट खरिद गरिएको सरकारी गाडी चढेर हिँड्न आफूहरूलाई नैतिकताले नदिने भन्दै स्थानीय तहका जनप्रतिनिधिले धमाधम आफूले चढ्ने सवारीसाधन एम्बुलेन्स र स्वास्थ्य प्रयोजनका लागि प्रयोग गर्न थालेका हुन् ।

आफू नागरिककै सेवाका लागि निर्वाचित भएको र नागरिक अस्पतालसम्म पुग्न सवारीसाधनको अभाव भएपछि आफूहरूले चढ्ने सवारीसाधन एम्बुलेन्सका रूपमा प्रयोग गर्न थालिएको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । कतिपय सवारीसाधनमा अक्सिजनसहितको सिलिन्डरको व्यवस्था गरी सवारीसाधनलाई अस्थायी एम्बुलेन्स बनाइएको छ भने कतिपय पालिकाले कोरोनाका सङ्क्रमित बोक्नका लागि मात्र सवारीसाधन प्रयोग गर्न थालेका छन् । काठमाडौँका टोखा, रुपन्देहीको तिलोत्तमा, चितवनको रत्ननगर नगरपालिकाका र रसुवाको कालिका गाउँपालिकाका प्रमुखले चढ्दै आएको सवारीसाधन एम्बुलेन्स र स्वास्थ्य सामग्री बोक्न प्रयोग गर्ने गरेका छन् ।

रसुवाको कालिका गाउँपालिका अध्यक्ष सीताकुमारी अधिकारी पौडेलले समुदायमा कोरोनाको सङ्क्रमण बढ्दै जाँदा आफूले प्रयोग गरिरहेको सवारीसाधन सङ्क्रमित बोक्न प्रयोग गर्नु आफ्नो दायित्व सम्झेको बताईन् । उनले भनिन्, “गाउँपालिकामा दुईवटा एम्बुलेन्स छन्, सार्वजनिक सवारीसाधन नचलेको र सङ्क्रमित बढ्दै जाँदा दुईवटा एम्बुलेन्सले पनि नभ्याउने अवस्था छ ।

महामारीभरि आफूले चढ्ने सवारीसाधनलाई एम्बुलेन्सका रूपमा प्रयोग गरेको छु ।” काठमाडौँको टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले पनि आफ्नो सवारीसाधन स्वास्थ्य सामग्री ओसारपसार र प्रशासनिक कार्यमा प्रयोग भइरहेको बताए । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस