कोरोनालाई परास्त गर्ने तयारीमा स्थानीय तह

रासस

सोमबार, २७ बैशाख २०७८, १५ : १७
कोरोनालाई परास्त गर्ने तयारीमा स्थानीय तह

नवलपुर । दोस्रो लहरमा तीव्ररुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरलाई परास्त गर्न नवलपरासी बर्दघाट–सुस्तापूर्वका स्थानीय तहहरू तयारीमा जुटेका छन् । स्थानीय तहहरू आफैँले अक्सिजनसहितको आइसोलेसन निर्माण गरेर कोभिड–१९ लाई परास्त गर्न खटिएका हुन् । 

जिल्लामा ८४६ जना सक्रिय सङ्क्रमित पुगेका छन् । दोस्रो लहरमा फैलिएको कोभिड–१९ का कारण पछिल्लो २६ दिनमा जिल्लाका विभिन्न स्थानीय तहमा १४ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले कोभिड नियन्त्रणका लागि स्थानीय तहसहित सबै सरोकारवाला एकजुट भएर लागेको बताए । 

जिल्लाका स्थानीय तहमा पाँचदेखि २४ शय्यासम्मका आइसोलेसन निर्माण गरिएको भन्दै आइसोलेसनका सबै शय्यामा अक्सिजन जडान गरिएको चापागाईले बताए । स्थानीय तहहरूले आइसोलेसन थप्ने तयारी गरिरहेकाले उनीहरूलाई अक्सिजन सिलिण्डरको उपलब्ध गराउने विषयमा समेत छलफल चलिरहेको चापागाईको भनाइ छ ।

जिल्लाका विभिन्न स्थानीय तह र जिल्ला अस्पतालमा गरी अक्सिजनसहितको १०० शय्याको कोभिड आइसोलेसन निर्माण गरिएको भन्दै चापागाईले जिल्लाका सबै प्राथमिक स्वास्थ्य केन्द्र र सीमा नाकामा कोरोना परीक्षणका लागि एन्टिजिन कीट उपलब्ध गराइएको जानकारी दिए ।जिल्लाका स्थानीय तहले कोभिड नियन्त्रणका लागि गरेका तयारी र अवस्थाबारे जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डिसिसिएमसीले अनुगमन गरेर आवश्यकतानुसार निर्देशन तथा सहयोग गरेको छ ।

डिसिसिएमसीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले स्थानीय तहका आइसोलेसनमा स्वास्थ्यकर्मी, अक्सिजन तथा शय्या मिलाउने काम गरिएको बताए । “स्थानीय तहले आइसोलेसन निर्माण गरेका छन् तर त्यहाँ स्वास्थ्यकर्मी, अक्सिजन तथा शय्याको व्यवस्थापन व्यवस्थित ढङ्गले भएका थिएनन्” प्रजिअ पङ्गेनीले भने, “केही स्थानमा स्वास्थ्यकर्मी तथा अक्सिजन पठाउने र शय्या व्यवस्थापनको काम ग¥यौँ ।” 

देवचुली नगरपालिकाको दुम्कौलीमा रहेका आइसोलेसन केन्द्र कमजोर अवस्थाको रहेकाले रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई कोभिड अस्थायी अस्पताल बनाउने विषयमा समेत छलफल भइरहेको उनले बताए । गतवर्ष कोभिडका बिरामीको सफल उपचार गरेको चिकित्सालयमा अक्सिजन, ल्याब थप गरेर गम्भीर अवस्थाका बिरामी उपचारका लागि समेत व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको उनले बताए। जिल्लामा अक्सिजन अभाव नरहेको भन्दै प्रमुख जिल्ला अधिकारी पङ्गेनीले जिल्लाका उद्योगी व्यवसायीहरूले राम्रो साथ र सहयोग गरेका बताए । 

प्रतिक्रिया दिनुहोस