कोरोना रोकथाममा जुट्दै रोल्पाका स्थानीय सरकार

रासस

सोमबार, २७ बैशाख २०७८, १४ : २१
कोरोना रोकथाममा जुट्दै रोल्पाका स्थानीय सरकार

रोल्पा । कोभिड–१९को दोस्रो लहरको सङ्क्रमण फैलिएसँगै रोल्पाका स्थानीय सरकारले यसको रोकथाम र उपचारका उपाय अवलम्वनमा सक्रियता देखाएका छन् । पहिलोको तुलनामा दोश्रो लहर भयावह बन्दै गएपछि स्थानीय सरकारलाई तातो लागेको देखिएको छ । स्थानीय श्रोत साधन जुटाई उनीहरुले महामारी रोकथामका लागि आइसोलेसन केन्द्र निर्माणदेखि सङ्क्रमितको उपचारका अरु उपाय अपनाएका हुन् । 

जिल्लाको एकमात्र नगरपालिका रोल्पा नगरपालिकाले ५० शय्याको आइसोलेसन केन्द्र स्थापना गरेको छ । नेकपा माओवादी केन्द्रले स्थापना गरेको शहिद स्मृति भवनमा सो केन्द्र स्थापना गरिएको हो ।केन्द्रमा ३० वटा अक्सिजन सिलिण्डरसमेत व्यवस्था गरिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिए । रोल्पा नगरपालिकामा ११ महिला र १९ पुरुषसहित ३० जना कोरोनाका सक्रिय सङ्क्रमित फेला परेका छन् ।

सुनिल स्मृति गाउँपालिकाले १५ शय्याको आइसोलेसन केन्द्र स्थापना गरेको छ । सो केन्द्रमा १४ वटा अक्सिजन सिलिण्डरसमेत व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले जानकारी दिए। “आइसोलेसन केन्द्रमा डाक्टरसहितको स्वास्थ्यकर्मी तथा एम्वुलेन्सको व्यवस्था गरेका छौँ” घर्तीले भने । सुनिल स्मृति गाउँपालिकामा छ महिला र पाँच पुरुषसहित ११ जना कोरोनाका सक्रिय सङ्क्रमित देखिएका छन् ।

जिल्लाको सुनछहरी गाउँपालिकाले पाँच शय्याको आइसोलेसन केन्द्र स्थापना गरेको छ । सो केन्द्रमा अक्सिजनको भने व्यवस्था हुन नसकेको गाउँपालिका उपाध्यक्ष पवित्रा घर्तीले जानकारी दिए। जिल्ला वाहिर काम गर्न गएका मजदूर फर्कने क्रम बढेकाले सङ्क्रमण पनि बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाइरहेका छौ ,  घर्तीले भने । सुनछहरी गाउँपालिकामा हालसम्म पाँच जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस