कोरोना नियन्त्रणका लागि निषेधाज्ञामा कडाइ

रासस

शुक्रबार, २४ बैशाख २०७८, ११ : १६
कोरोना नियन्त्रणका लागि निषेधाज्ञामा कडाइ

रुपन्देही । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ । कोभिडको नयाँ भेरियन्टको सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञा कडा बनाइएको हो ।

रुपन्देहीमा बिहीबार बसेको जिल्लास्तरीय कोभिड सङ्कट व्यस्थापन केन्द्रको बैठकले वैशाख ३० सम्म यसअघि नै लागू भएको निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो ।

बैठकले एक–एक जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैंक तथा वित्तीय संस्था वैशाख ३० गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । खाद्यान्न लगायत अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगबाहेक अन्य उद्योग र पूर्वाधार निर्माणका काम अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्ने निर्णय भएको छ ।

जिल्लामा निषेधाज्ञा लागू भएको आठौँ दिनसम्म कोरोना सङ्क्रमित थपिने क्रम रोकिएको छैन । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ७४५ कोरोना सङ्क्रमित थपिएका छन् भने नौ जनाले ज्यान गुमाएका छन् । जिल्लामा अहिलेसम्म २४२ जनाको मृत्यु भइसकेको छ ।