लुम्बिनी प्रदेश भरि अक्सिजनको अभाव, अस्पतालहरुमा बिरामीहरु खचाखच

पत्रपत्रिकाबाट

शुक्रबार, २४ बैशाख २०७८, ०८ : ४१
लुम्बिनी प्रदेश भरि अक्सिजनको अभाव, अस्पतालहरुमा बिरामीहरु खचाखच

रुपन्देही । लुम्बिनी प्रदेशका ठूला अस्पताल रहेका रूपन्देही, दाङ र बाँके कोरोना ‘हटस्पट’ बनेका छन् । आसपासका जिल्लाबाट समेत गम्भीर अवस्थाका संक्रमितलाई उपचारका लागि यहाँ ल्याउने गरिएको छ । प्रदेशका चार कोरोना र दुई शिक्षण अस्पतालमा अहिले बिरामी खचाखच छन् ।

श्वासप्रश्वास समस्या भएर अक्सिजन चढाउनुपर्ने बिरामी दिनहुँ थपिइरहेका छन् । तर, अक्सिजन अभाव देखाउँदै यी अस्पतालले बिरामी फर्काउन थालेका छन् । केहीले तीनरचार दिनदेखि नयाँ बिरामी भर्ना रोकेका छन् । अस्पतालले अक्सिजन अभाव भएकाले भर्ना भएका बिरामीको मृत्यु हुन सक्ने चेतावनी दिन थालेपछि यहाँ चिन्ता बढेको हो ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक र कोरोना विशेष अस्पतालमा बुधबार अक्सिजन आपूर्ति भएन । बाँकेबाट डिलरले अक्सिजन ल्याउन नपाएपछि रूपन्देहीकै अर्को सप्लायर्सलाई जिम्मा दिइयो । उक्त सप्लायर्सले ६० थान सिलिन्डर उपलब्ध गरायो तर बाँकेबाट अक्सिजन आपूर्ति नभएपछि अभाव चर्किएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट ९मेसु० डा। राजेन्द्र खनालले बताए । ‘सप्लायर्सले हाम्रो भर नपर्नु, सबैलाई पुर्‍याउनुपर्छ भन्यो,’ उनले भने, ‘त्यसपछि समस्या भयो ।’

खनालका अनुसार अहिले दैनिक ५ सय सिलिन्डर खपत हुन्छ । एक पटकमा ३५ देखि ४० सिलिन्डर प्रयोग भइरहेका छन् । ती सकिने बेला त्यति नै सिलिन्डर तयार राख्नुपर्छ । बिहीबार बिहानसम्म अक्सिजन व्यवस्था नभएपछि मेसुसहित चिकित्सक र स्टोरमा कार्यरत कर्मचारीलाई तनाव भयो । बुटवलको आम्दा अस्पतालले केही थान सिलिन्डर सापटी दियो । मेसु खनालले समस्याबारे स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन, बुटवल उपमहानगरपालिकालाई जानकारी गराए ।

अक्सिजन अभावबारे सर्वसाधारणले सामाजिक सञ्जालमा उल्लेख गर्न थाले । त्यसपछि बिहीबारका लागि जोहो भएको उनले बताए । ‘यसरी दीर्घकालीन हुँदैन,’ उनले भने, ‘तत्काल अक्सिजन, बेड र जनशक्ति जोहो नगरे बिरामीको उपचार गर्ने अवस्था छैन ।’ भैरहवास्थित भीम अस्पतालले एक सातादेखि अक्सिजन अभावबारे संघसंस्था र प्रशासनलाई जानकारी गराउँदै आएको जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस