सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको उपचार व्यवस्थापन असहज

रासस

विहीबार, २३ बैशाख २०७८, १४ : ३१
सुदूरपश्चिम प्रदेशमा  सङ्क्रमितको उपचार व्यवस्थापन असहज

सुदूरपश्चिम ।मुलुक यतिबेला कोरोना भाइरस महामारीको चपेटामा छ । सुदूरपश्चिम प्रदेश पनि यो रोगको महामारीवाट अछुतो छैन । प्रदेशका तराइका कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमण हुने र मृत्यु हुने दर पहाडी क्षेत्रका जिल्लाको तुलनामा उच्च छ । समुदायमा दैनिक सङ्क्रमण र मृत्युदर बढेको छ ।  

सङ्क्रमण हुनेदर बढेसँगै प्रदेशको ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढी अन्तर्गतको कोभिड अस्थायी अस्पताल सङ्क्रमितले भरिएपछि भएको शय्या र अक्सिजन लगायतका स्रोत साधनको अभावले उपचार व्यवस्थापन असहज बनेको छ । 

अस्पतालमा पर्याप्त जनशक्तिसाथै शय्या र अक्सिजनको अभाव सिर्जना हुँदा बिरामीको उपचार व्यवस्थापन असहज बनेको हो । बिरामीको चाप बढेपछि दुई दिनदेखि अस्पताल प्राङ्गणमासमेत शङ्कास्पद सङ्क्रमितलाई राखेर उपचार व्यवस्थापन गर्न थालिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

कोरोनाजस्तो लक्षण देखिएका जटिल प्रकृतिका बिरामीले अस्पतालको आकस्मिक कक्ष भरिएको छ । कतिपयलाई आकस्मिक कक्ष नजिकैको ग्यालरीमा र कतिपयलाई प्राङ्गणमा राखेर उपचार गर्नु परेको श्रेष्ठले बताए । 

नमूना परीक्षणको नतिजा आइनसक्दै कोरोनाजस्तो लक्षण भएका जटिल प्रकृतिका बिरामी बढ्न थालेपछि अस्पताललाई बिरामी थेग्नै मुस्किल भएको छ ।  प्रयोगशालामा जनशक्ति न्यून हुँदा नमूना परीक्षण दैनिक बढीमा ५०० हाराहारीमा हुने गरेको छ भने परीक्षण कार्य र नतिजा आउन ढिलाई हुने गरेको छ ।  अस्पतालका दुई वटा पिसिआर मेसिन मध्ये एउटा मात्र सञ्चालनमा रहेको छ ।
  

प्रतिक्रिया दिनुहोस