काठमाडौँ ।आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या १० पुगेको अस्पतालले जनाएको छ ।
गत वर्षभन्दा यो वर्ष सङ्क्रमण फैलिने दर उच्च भएकाले सङ्क्रमित थपिरहेको अस्पतालले जनाएको छ । एक सातायता दिनमा एकदुईजना देखिएकामा आज एकै दिन बढी सङ्ख्या देखिएको अस्पतालका प्रवक्ता डा कृष्णप्रसाद विष्टले बताए । उनले भने , “सङ्क्रमण सबैतिर बढिरहेमा यहाँ पनि बढ्न सक्छ ।”
कोभिडकै उपचारका लागि तोकिएको अस्पताल नभएकाले अरू स्वास्थ्य समस्या लिएर आएका बिरामीको परीक्षण गर्दा कोभिड पाइएको अस्पतालले जनाएको छ । रुघा, खोकी, ज्वरो, निमोनिया भएर आएका ती बालबालिकामा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा विष्टले बताए।
अस्पतालले कुनै पनि बालबालिका अस्पताल छिर्नासाथ ज्वरो हेर्न ‘फिबर क्लिनिक’ को व्यवस्था गरेको छ । कोभिडसँग मिल्दो लक्षण भएका शङ्कास्पद बिरामीलाई छुट्टै वार्डमा राखिने गरिएको प्रवक्ता डा.विष्टले बताए ।
बालबालिकाको रिपोर्ट पोजेटिभ भएमा कोभिडका लागि छुट्याइएको श्ययामा उपचार गरिन्छ । सङ्क्रमित नभएको पाइएमा अरू सामान्य श्ययामा उपचार गरिने उनले बताए । उनले भने , “अहिले पनि अस्पतालमा कोभिडभन्दा अरू बिरामी धेरै छन् ।”
अस्पतालले नियमित सेवालाई निरन्तरता दिइरहेको भए पनि सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा घोषणा गरेपछि बिरामीको सङ्ख्या ह्वात्तै घटेको अस्पतालले जनाएको छ ।
सामान्य अवस्थामा बहिरङ्ग सेवा, आकस्मिक सेवा गरेर दैनिक सातदेखि आठ सयसम्म बिरामी आउने गरेका थिए । अहिले दैनिक झण्डै एक सयदेखि डेढ सयसम्म छ । उनले भने , “यातायातको साधन नभएकाले पनि आउन नसकेको हुनसक्छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २२ बैशाख २०७८, १५ : २०
लेखकबाट थप