राष्ट्रिय सभाको उपचुनावमा बादल र देवकोटाको भिडन्त, कसले मार्ला बाजी ?

सफल खबर संवाददाता

बुधबार, २२ बैशाख २०७८, १४ : ४६
राष्ट्रिय सभाको उपचुनावमा बादल र देवकोटाको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ । आगामी जेठ ६ गते हुन लागेको राष्ट्रियसभाको रिक्त एक सिटमा गृहमन्त्री रामबहादुर थापा बादल र संघीयताविद् डा खिमलाल देवकोटाको भिडन्त हुने भएको छ ।

दुबै नेता नेकपा एमालेका हुन् । बादल केपी ओली पक्षका हुन् भने देवकोटा माधव नेपाल पक्षका मानिन्छन् । माओवादी केन्द्रले एमाले निकट माधव नेपाल पक्षका मानिने बुद्धिजीवी एवं संघीयताविद् डा  खिमलाल देवकोटालाई उम्मेदवार बनाउने प्रस्ताव गरेको हो । देवकोटालाई माओवादी, नेपाली काँग्रेस र माधव नेपाल पक्षको समर्थन रहनेछ ।

मंगलबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादवबीचको छलफलबाट डा देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएको हो ।

पार्टी परित्याग गरी एमालेमा लागेपछि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो। एमालेले सोही पदमा थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो । बादल र देवकोटाको भिडन्त ज्यादै रोचक हुनेछ । माओवादी केन्द्र, एमाले माधव नेपाल पक्ष र नेपाली कांग्रेसको भोट देवकोटाले पाउनेछन् भने बादलले एमाले केपी ओली पक्षको भोट पाउनेछन् ।

दुबैवीच कडा प्रतिस्पर्धा हुने बताइएको छ । ०७६ असारमा  देवकोटाले बागमती प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए । विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका देवकोटा वित्तिय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन्।

देवकोटाले अर्थशास्त्रमा एमए, आर्थिक विश्लेषणमा एमएसी र विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । स्थानीय निकाय वित्तीय आयोगमा लामो समय विज्ञ भई कार्य गरेका देवकोटाले प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगमा पनि विज्ञ सल्लाहकारका रुपमा काम गरिसकेका छन्। यता बादल पटकपटक मन्त्री भइसकेका अनुभवी नेता मानिन्छन् । हाल गृहमन्त्रीसमेत रहेका बादललाई एमाले ओली पक्षको ठूलो हिस्साले सघाउनेछ । 

प्रतिक्रिया दिनुहोस