गण्डकी प्रदेशमा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १७ : ५६
गण्डकी प्रदेशमा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लाका ६१८ जनाको नमूना परीक्षण गरिएकोमा पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशका ९ जिल्लामा २ सय ७४ संक्रमित देखिएका मध्ये सबैभन्दा धेरै कास्कीको पोखरामा १ सय ६३ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार कास्कीका ३ सय १३ जनाको परीक्षण गर्दा पोखरा महानगरका १ सय ६३ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी तनहुँका १७ जनाको परीक्षण गर्दा ७ जना पोजेटिभ देखिएको छ । गोरखाका ९१ जनाको परीक्षण गर्दा ४३ जना, लमजुङका ४ जनाको परीक्षण गर्दा १ जना, नवलपुरका ४८ जनाको परीक्षण गर्दा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै स्याङजाका ३१ जनाको परीक्षण गर्दा ९ जना पोजेटिभ, पर्वतका ३२ जनाको परीक्षणमा २ जना, बाग्लुङमा ५८ जनाको परीक्षण गर्दा २३ जना पोजेटिभ र म्याग्दी जिल्लाका १६ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । 

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय ४५ पुगेको छ । त्यसमध्ये सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ७२ जना कोरोनामुक्त भएका छन् । योसँगै, गण्डकीमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ८ सय ८२ पुगेको छ ।

गण्डकीमा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका –६ की ८२ वर्षीया महिला, स्याङ्जा अर्जुनचौपारी गाउँपालिका –५ का ६२ वर्षीय पुरुष र मुस्ताङ जिल्ला घरपोङ गाउँपालिका ४ का ७२ वर्षीया महिलाको मृत्यु भएको निर्देशक डा शर्माले जानकारी दिए । प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२४ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस