चितवन । चितवनमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या पाँच सय कटेको छ । जिल्लामा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ७९ पुगेको छ । एकै दिन मङ्गलबार १ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
भरतपुर अस्पताल कोभिड– १९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा १६५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो जसमध्ये १ सय २१ जना चितवनका मात्रै हुन् ।
थपिएका सङ्क्रमितमध्ये ९२ जना भरतपुरका छन् । भरतपुर अस्पतालको प्रयोगशालामा १० महिनादेखि ५६ वर्ष उमेर समूहका १६ पुरुष र ७ देखि ७६ वर्ष उमेर समूहका २६ महिला गरी ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । उता चितवन मेडिकल कलेजको प्रयोगशालामा भरतपुरका ५० जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, पूर्वी चितवनको रत्ननगरका २० जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा तीन तथा चितवन मेडिकल कलेजमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । खैरहनीका सात तथा राप्ती, कालिका र इच्छाकामना गाउँपालिकाका समान एक–एक जनामा कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १५ बैशाख २०७८, १३ : ३७
लेखकबाट थप