प्रश्नपत्र आउट गरेको अभियोगमा पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १३ : १८
प्रश्नपत्र आउट गरेको अभियोगमा पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जना पक्राउ

मोरङ । परीक्षा अगावै प्रश्नपत्र आउट गरेको अभियोगमा पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । विद्यार्थीहरूसँग मोटो रकम लिएर उनीहरुले परीक्षा हुनु भन्दा दुई घण्टा अगाडि नै प्रश्नपत्र आउट गरेको आरोप लागेको छ ।

मोरङ प्रहरीले प्रश्नपत्र आउट गर्नमा संलग्न रहेको अभियोगमा एक जना कर्मचारी र ९ जना विद्यार्थीहरूलाई पक्राउ गरेको हो । मोरङ प्रहरीले ८ जना विद्यार्थीहरूलाई काठमाडौंबाट शनिबार राति पक्राउ गरि ल्याएको छ भने अन्य दुई जनालाई विराटनगरबाट पक्राउ गरेको हो ।

यस घटनामा मोरङ प्रहरीले ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरी ‘शिक्षा ऐन’ अनुसार म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको इन्जिनियरिङ संकायको ३ वैशाखमा  हुने स्नातक दोस्रो सेमेस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्टा अगाडि बाहिरिएको थियो । 

१ बजेदेखि हुने फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्टा अगाडि कर्मचारीको मिलेमतोमा ११ बजे प्रश्नपत्र आउट भएको खुलेको थियो । प्रहरीले एक साता लामो अनुसन्धान गरी पक्राउ गरिएकालाई आज अपरान्ह जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गदैछ ।

प्रहरीले गहन रूपमा अनुसन्धान गरेपछि प्रश्नपत्र आउट भएको घटनामा संलग्नहरूलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले पुष्टि गरे । पक्राउ परेका विद्यार्थी र कर्मचारी सबैको नाम भने गोप्य राखेको छ ।

परीक्षा अघि प्रश्न पत्र सार्वजनिक भएपछि परीक्षा नियन्त्रक कार्यालयका प्रमुख प्रा डा सूर्यप्रसाद संग्रौलाले तत्काल अर्को प्रश्नपत्र बनाएर परीक्षा लिएका थिए । प्रश्नपत्र आउट भएपछि अनुसन्धान गर्न मोरङ प्रहरीमा निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस