ठिमुरा–देवघाट पुलको अर्को स्ल्याप पनि भाँचियो, सात घाइते, दुई जना बेपत्ता

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १० : २७
ठिमुरा–देवघाट पुलको अर्को स्ल्याप पनि भाँचियो, सात घाइते, दुई जना बेपत्ता

चितवन । ठिमुरा देवघाट जोड्ने त्रिशुली नदीमाथि बनिरहेको पक्की पुलको अर्को स्ल्याप नि भाँचिएको छ । पुलको स्ल्याप भाँचिदा काम गरिरहेका मजदुरहरु  ९ जना त्रिशुली नदीमा खसेका छन् ।

स्थानीयका अनुसार खसेका ९ मजदुरमध्ये घाइते भएका ७ जनाको चितवन मेडिकल कलेजमा उपचारको लागि ल्याइएको छ भने २ जना अझै बेपत्ता छन् । घाइते र बेपत्ता हुनेको नाम खुल्न बाँकी छ भने घटनाको विस्तृत विवरण संकलनको लागि प्रहरी घटनास्थल तर्फ गइरहेको छ ।

देवघाट जोड्ने पुलको ढलान गरिएको ४०–४० मिटरको दुई वटा स्ल्याव झण्डै ३ हप्ता अगाडि भत्किएको थियो । पुल भाँचिएपछि  ठेकेदार फरार भएका छन् । इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको पुल ढलान गरेको २१ दिनमा भत्किएको हो ।

प्रिस्टेसिङका क्रममा रहेको ४० मिटरको पुलको स्ल्याव  भत्किदा अर्को १ वर्ष अगाडि ढलान गरिसकेको ४० मिटरको भागसमेत भत्किएको थियो । पुल २२० मिटर लामो र ८.५ मिटर चौडाइको बन्ने क्रममा रहेको थियो । पुलको एक खण्डमा ट्रसको काम भइरहेको थियो । बवभागका अधिकारीहरुले भने  भूकम्पको धक्काका कारणले पुल भत्किएको भन्दै निर्माण ब्यवसायीलाई जोगाउने प्रयास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस