बन्दाबन्दीको मौका छोपेर मनोमानी मूल्यवृद्धि

रासस

शनिबार, ११ बैशाख २०७८, १४ : २५
बन्दाबन्दीको मौका छोपेर मनोमानी मूल्यवृद्धि

नेपालगञ्ज । नेपालगञ्जमा बन्दाबन्दीको मौका छोपेर व्यापारीले मनोमानीरुपमा दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धि गरेका छन् । कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा यही वैशाख ९ गतेदेखि १५ गतेसम्मका लागि बन्दाबन्दी जारी गरेको छ । बन्दाबन्दीमा सहज र सरलरुपले उपलब्ध गराउनुपर्नेमा व्यापारीले कालोबजारी गरी मूल्यवृद्धि गरेको पाइएको छ । 

नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बन्दाबन्दीको हल्लासँगै प्रत्येक तरकारीमा किलोमा २० देखि ३० रुपैयाँ वृद्धि गरेको पाइएको छ । बन्दाबन्दीअघि प्रतिपाँच केजी रु १२० मा बिक्री भएको आलु अहिले रु २०० तिरेर किन्न बाध्य भएको नेपालगञ्ज १० निवासी उपभोक्ता मङ्गलीमाया श्रेष्ठले बताइन् ।

उनका अनुसार, आलु मात्र नभई, सिमला खुर्सानी, गोलभेँडा, भिण्डी, करेला, बोडी, बन्दालगायतका तरकारीमा पनि बन्दाबन्दीभन्दा चर्को मूल्य तिर्न बाध्य भएका छन् । नेपालगञ्जको बिपी चोकस्थित तरकारी बजारमा पनि तरकारी खरीद गर्न पुगेका उपभोक्ताले पनि यस्तै समस्या झेल्नु परेको छ । 

बन्दाबन्दीको मौका छोपेर अत्यधिक महङ्गो भएपछि तरकारी नै खरीद नगरेर घर फर्किएको नेपालगञ्ज– ६ निवासी गृहणी सिर्जना रानाले गुनासो गरिन् । “लकडाउन भनेर किन्नै नसकिने गरी जथाभावी महङ्गो मूल्य लगाउने गरेका छन्”, उनले भनिन्, “महामारीका बेला जनतालाई ठग्ने र दुःख दिने काम भएको छ ।”

तरकारी मात्र नभई खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य सामग्रीमा पनि नेपालगञ्जमा  कालोबजारी ह्वात्तै बढेको छ । ग्यास, नून लगायतका अत्यावश्वकीय वस्तुको कालोबजारी गरी महङ्गो दरमा बिक्री भईरहेको रानाले बताइन् ।  विहान ६ बजेदेखि ९ बजे सम्म दैनिक उपभोग्य सामाग्री खरिदका लागि तोकिएको समयमा पनि उस्तै मनपरी भएको पाइएको छ । सामान्य अवस्थामा भन्दा बन्दाबन्दीको समयमा कालोबजारी हुँदा निम्न वर्गिय, मजदुर र गरिखाने सर्वसाधारण झनै समस्यामा परेका छन् ।

एकै दिनमा मूल्य वृद्धि गर्न नपाइने र स्टक सामाग्रीलाई पनि मुल्य बढाएर बिक्री गर्न नपाइने कानुनी व्यवस्था रहेको भएपनि बन्दाबन्दीमा  आँखा छलेर मुल्य मेटेर सामाग्री बेच्ने गरेको पाईएको उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतमले बताए  । उपभोक्ता हित संरक्षण समितिकी संयोजक समेत रहेकी नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले बन्दाबन्दीमा कालोबजारी र मूल्य वृद्धि गरेको गुनासो आएपछि बजार अनुगमन थालिएको बताए । 

उनका अनुसार, शुक्रवार गरिएको अनुगमनको क्रममा अनुचित ब्यापारिक क्रियाकलाप गर्ने दुईवटा तरकारी पसल क्रमशः त्रिभुवनचोक स्थित अकरम तरकारी पसल र रानीतलाउ स्थित सान अर्डर सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ १ (क) बमोजिम चेतावनी स्वरुप तस्काल जनही रु. २० हजार जरिवाना समेत गरिएको छ ।

नेपालगञ्ज–१२ सुर्खेत रोड स्थित नसिम जसगढ, ढोडे मुखिया र इरफान राईले सञ्चालन गरेको तरकारी पसल, त्रिभुवन चोक स्थित अकरम तरकारी पसल, रानीतलाउ स्थित सान अर्डर सप्लायर्स, एम।एम।आर। अर्डर सप्लायर्स र रानी तलाउ स्थित कृषिउपज बजार संचालक समितिले सञ्चालन गरेको तरकारी मण्डीमा दर्ता÷नविकरण, मुल्य, गुणस्तर, आपूर्ति र उपलब्धताको बिषयमा बजार अनुगमन गरिएको थियोे ।

बन्दाबन्दीको बेला मनपरी मुल्य निर्धारण गर्ने र उपभोक्ता ठगी गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । उनले बन्दाबन्दी मात्रै नभई जुनसुकै समयमा पनि मनपरी मुल्य वृद्धि गर्न नपाईने उल्लेख गरे ।  उनका अनुसार, नेपालगञ्जमा कोरोना सङ्क्रमण तीब्रगतिमा फैलिएकाले त्यसको रोकथामका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभर अत्यावश्यक सेवाबाहेक हिँडडुलमा समेत निषेध गरिएको छ । बन्दाबन्दीको समयमा दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्य, दूध, ग्यासका पसल विहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न दिईने छ ।

    यसैगरी स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षाहरु र हवाई सेवा सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।
–––

प्रतिक्रिया दिनुहोस