प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव किन ल्याउन चाहँदैन काँग्रेस ?

सफल खबर संवाददाता

शनिबार, ११ बैशाख २०७८, ०९ : ३४
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव किन ल्याउन चाहँदैन काँग्रेस ?

काठमाडौँ । नेपाली काँग्रेसले ठोस निर्णय लिन नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता रोहण दिन प्रति दिन लम्बिदैं गएको छ । जसपा लगायतका अन्य दलले ठोस निर्णय दिन नसक्दा निर्णय लिन काँग्रेसले बताउदैं आएपनि सभापति देउवाको ओलीसँगको साँठगाठका कारण अविश्वासको प्रस्ताव ल्याउन नसकेको राजनितिक विश्लेषकहरुको भनाई छ ।

प्रतिगामी चरित्रका ओली र उनको तानाशाही हटाउन प्रमुख रूपमा अग्रगामी तथा प्रतिगमन विरोधी शक्तिका बीचमा साझा हित र दायित्वका साथ अगाडि बढ्नुपर्ने बेलामा काँग्रेसले तदर्थवादी नीति अख्तियार गरेर बसेको छ । यसबाट न त देशलाई फाइदा हुन्छ, न त नेपाली जनताले नै केही पाउँछन् ।  ओलीले संविधानमाथि थोपरेको ज्यादती, सङ्घीयतामाथि थोपरेको तानाशाहीपन तथा प्रणालीबाट नै प्रश्न उठाउने जुन खालको व्यवहार गरिरहेका छन् यसले जोकोहीलाई पनि संवेदनशील बनाइरहेको छ । नेपाली जनताको चाहना र भावनाविपरीत ओलीले पछिल्लो डेढ वर्षमा चालेको व्यवहार तथा गतिविधिले परिवर्तनको बलमा स्थापित व्यवस्थामाथि नै सन्त्रास फैलने अवस्था कायम भएको छ । सोही कारण पनि काँग्रेसले आफूलाई अब्बल रूपमा साबित गर्नुपर्ने आवश्यकता छ । 

नेपालका हरेकजसो लोकतान्त्रिक आन्दोलनमा काँग्रेसले निभाएको भूमिका आम नेपाली जनतालाई थाहा छ । राजनीतिक परिवर्तनमा भूमिका भए पनि कार्यान्वयनको चरणमा पुग्दा काँग्रेसले भ्रष्टहरुको गुटमा परिणत भएको तथ्य पनि जगजाहेर नै छ । राजनीतिक परिवर्तनको नेतृत्व गर्ने फरक विषय हो । तर त्यसलाई कार्यान्वयनमा जाने राजनीतिक नेतृत्वको इच्छाशक्ति अर्को झनै महत्वपूर्ण विषय हो । काँग्रेसले विगतमा पनि राजनीतिलाई विकृत बनाएकै थियो । आज पनि काँग्रेसकै कारण ओलीको सत्ता विस्तारित हुने मौका पाएको छ । 

काँग्रेस सभापति शेरबहादुर देउवालाई कम्युनिस्टहरु फुटेको बेला चुनाव जित्न सकिन्छ भन्ने कल्पनाले राम्ररी नै लोभ्याएको छ । ज्योतिषीले ४ महिना पर्खन भनेको पनि दुई महिना बित्न लागेको छ । देउवालाई पुनः पार्टी र सत्ता कब्जा गर्नुपर्ने छ । पार्टी सत्तालाई चिर स्थायी बनाएपछि मात्रै सरकारमा जाने उनको ध्येय देखिन्छ । पछिल्लो पटक तराई मधेस केन्द्रित दललाई पनि ओलीसँग गठबन्धन गराइदिनुको पछाडि पनि भारतीय योजना नै रहेको छ । महन्थ ठाकुर, राजेन्द्र महतोलाई ओलीसँग गठबन्धन गराइदिनुको पछाडि पनि भारतीय योजनाले नै काम गरेको छ । 

सामन्त गोयलको रणनीतिअनुसार नै अगाडि बढेको नेपाली राजनीतिलाई थप भयग्रस्त तथा थप आपराधिक बनाउनका लागि केन्द्रित गरेको छ । महन्थ ठाकुर, राजेन्द्र महतो, ओली, पार्टीमा फरक भए पनि उनीहरु एउटै स्वार्थ समूहबाट परिचालित छन् । उनीहरु रूप र तौलमा फरक भए पनि सारमा एउटै हुन् । उनीहरु खासमा एउटै स्वार्थबाट परिचालित छन् भन्ने तथ्य स्थापित भएको छ । नेपालको राजनीतिक अवस्थालाई थप अन्योल तथा तरल बनाउनका लागि गोयल रणनीतिले काम गरेको छ । परिवर्तनका सारा प्रक्रियालाई डिरेल बनाउन ओली नै उपयुक्त पात्र हुन् भन्ने बुझाइमा भारतमा छ र सोहीअनुसार नै रोडम्याप तय गरिएको छ । सङ्घीयता उल्ट्याउने, समावेशिता, समानुपातिक प्रणाली तथा अन्त्यमा गणतन्त्रसमेत उल्ट्याउने योजनाअनुसार नै सारा गतिविधि भइरहेको छ ।

सोही गतिविधिलाई कार्यान्वयन गराउनका लागि नै भारतले पूर्वराजा ज्ञानेन्द्रलाई भारत बोलाएर शाही स्नान गराइएको जानकारहरुको बुझाइ छ । यी सबै तथ्य र कारणका आधारमा हेर्दा, ओलीमार्फत सबै गराएर उनलाई फाल्ने योजना बनाइएको छ । देउवालाई अविश्वासको प्रस्ताव दर्ता गराउन नदिनुको पछाडि पनि सोही कारणले काम गरेको छ । किनकि देउवालाई पार्टी सत्ता र सरकारी सत्ता पुनः एकै पटक एकै रूपमा चलाउने सोच राखेर रणनीति अगाडि बढाइएको छ । काँग्रेसका अन्य कुनै पनि नेतालाई प्रधानमन्त्री बन्न नदिने देउवा रणनीति पनि त्यसैमा जोडिएर आएको छ । अर्को शक्ति केन्द्र बन्ने भन्दै देउवा अन्य कुनै पनि नेतालाई प्रधानमन्त्री बनाउन र बन्न दिने अवस्थामा छैनन् ।

उनलाई विगतमा गिरिजाप्रसाद कोइरालाविरुद्ध आफूले खेलेको रणनीति राम्रैसँग थाहा छ । अर्को शक्ति केन्द्र बनेको अवस्थामा आफ्नो पार्टी सत्तासमेत धरापमा पर्ने भएकाले देउवाले कोही कसैलाई पनि अगाडि बढ्नै नदिने, आफू मात्रै हुने योजनाअनुसार नै परिचालित भएको तथ्य कोही कसैबाट पनि छिपेको छैन ।  काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतका नेताले पनि देउवाविरुद्ध प्रभावकारी रणनीति अवलम्बन गर्न सकेका छैनन् । उनीहरुले निरन्तर दबाब दिएका कारण ओलीको प्रतिगमनविरुद्ध काँग्रेसले सामान्य रूपमा नै भए पनि आन्दोलन गर्न सक्ने अवस्थामा पुगेको थियो । पछिल्लो अवस्थामा काँग्रेस रणनीतिविहीन भएको छ ।

योजनाविहीन रहेको छ । काँग्रेसले प्रभावकारी रणनीति नबनाएर ओलीलाई नै शासन सत्तामा रहिरहने योजनालाई साथ दिएको छ । यो देशका लागि सबैभन्दा घातक विषय बनेको छ । नेपालको हितविपरीत जाने ओली रणनीतिलाई तत्काल अन्त्य गर्नु आवश्यक रहेको राजनीतिक विश्लेषकहरुको ठहर छ । अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि ओलीले हठात् नै प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिदिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस