कोरोना सङ्क्रमणबाट हेटौँडामा एक वृद्धको मृत्यु

रासस

बुधबार, ०८ बैशाख २०७८, १२ : ०८
कोरोना सङ्क्रमणबाट हेटौँडामा एक वृद्धको मृत्यु

मकवानपुर । मकवानपुर जिल्लाको  हेटौँडामा कोरोना सङ्क्रमणबाट एक वृद्धको आज मृत्यु भएको हेटौँडा उपमहानगरपालिकाको जनास्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । कोरोना पृष्टि भएको हेटौँडा उपमहानगरपालिका–४ स्थित कर्राका ७४ वर्षीय वृद्ध एक पुरुषको मृत्यु भएको हो ।
कोरोना सङ्क्रमित भएपछि  होम आइसोलेशनमा रहेका वृद्धको मृत्यु भएको चौलागाईंले भने । मृतकको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ । तराईको बारा र पर्सा जिल्लाको सीमासँग जोडिएको र सुरक्षाका मापदण्ड नअपनाउँदा कोरोनाको जोखिम वढेको छ ।

कोभिड–१९ को सम्भावित रोकथाम र बचावटका सन्दर्भमा सङ्घीय सरकारले गरेको निर्णयबमोजिम मकवानपुर जिल्लामा पनि सोही बमोजिम पूर्ण पालना गराउन थालिएको छ । मकवानपुर जिल्लामा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार सङ्घीय निर्देशन पूर्ण रुपमा कार्यान्वयन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए । अब मकवानपुर जिल्लामा सिनेमा घर, दोहोरी साँझ, जिम क्लब, आमसभा, जुलुस, स्वीमिङ पुल, रङ्गशालामा दर्शकसहितको खेलकूद तथा भीडभाड हुने कार्यक्रम सबै वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

मेला, महोत्सब, जात्रा, विवाह आदिमा २५ जनासम्म मात्र उपस्थित हुन पाउने तथा विवाह, ब्रतबन्धको लागि पार्टी प्यालेसमा गर्नुपर्ने भए प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिनुपर्ने अनिवार्य गरिएको छ । यस्तै सिट क्षमताभन्दा बढी यात्रुु राख्न नपाउने तथा अनिवार्य मास्क लगाउनुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस