इन्धनको मूल्य बढेसँगै हवाई भाडामा वृद्धि

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १९ : ०६
इन्धनको मूल्य बढेसँगै हवाई भाडामा वृद्धि

काठमाडौं । वायुसेवा सञ्चालकले हवाई भाडा बढाउने निर्णय गरेका छन् । नेपाल आयल निगमले गत शनिबार रातिबाट लागु हुने गरी हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो ।

सोही अनुसार सोमबार रातिबाट लागु हुने गरी हवाई भाडा वृद्धि भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । बढेको भाडालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरेको छ । हवाई भाडाको हवाई इन्धनमा लाग्ने मूल्य थप भएको हो । यसअनुसार सबैभन्दा बढी काठमाडौंबाट धनगढीका लागि ८५ रुपैयाँ बढेको छ ।

पर्वतीय उडानतर्फको भाडा ६५ रुपैयाँ बढी लाग्ने छ । नेपालगन्जका लागि ६५ रुपैयाँ र भद्रपुरका लागि ६० रुपैयाँ वृद्धि भएको छ । काठमाडौंबाट सिमराका लागि १५ रुपैयाँ बढेको छ । काठमाडौंबाट पोखरा उड्दा ३५ रुपैयाँ बढी तिर्नुपर्ने भएको छ । भैरहवाका लागि ४५ रुपैयाँ बढी पर्नेछ । विराटनगरका लागि ५० रुपैयाँ भाडा बढी पर्ने कंडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस