संघीय र प्रदेश संसद्‍मा १३ स्थान खाली, कहिले होला उपचुनाव ?

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, ०७ : ५४
संघीय र प्रदेश संसद्‍मा १३ स्थान खाली, कहिले होला उपचुनाव ?

काठमाडौँ । माओवादी केन्द्रले पार्टी छाडेर एमालेमा लागेकालाई कारबाही गर्न थालेपछि संघीय संसद् र प्रदेशसभा सदस्यहरूको पद धमाधम खाली हुन थालेको छ । माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएका आधारमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भइसकेको छ । प्रतिनिधिसभामा चार, राष्ट्रिय सभामा एक र प्रदेशसभामा आठ जनाको सांसद पद खारेज भएको हो ।

पछिल्लो पटक आइतबार राष्ट्रिय सभामा वाग्मती प्रदेशबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापाको सांसद पद खारेज भएको छ । सांसद पद खारेज भएसँगै मन्त्रीबाट समेत पदमुक्त भएका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबारै गृहमन्त्रीमा नियुक्त गरिएको छ । माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रिय सभामा निर्वाचित थापाले प्रतिनिधिसभा विघटनको कदमपछि प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए ।

सर्वोच्च अदालतको फैसलाले नेकपा एकतापूर्वको अवस्थामा पुगेपछि उनी एमालेमा लागेका छन् । राष्ट्रिय सभामा माओवादी संसदीय दलका नेता दीनानाथ शर्माले गत चैत २७ गते थापाको पद खारेजीको प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई पत्राचार गरेका थिए । त्यही आधारमा सांसद पद खारेजको सूचना आइतबार प्रकाशन गरिएको थियो ।

मध्याह्न सांसद पदबाट मुक्त भएका थापाले साँझ गृहमन्त्रीमा पुनः नियुक्ति भईवरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् । संघीय संसद् सचिवालयका सचिव राजेन्द्र फुयालका अनुसार मन्त्रिपरिषद् र निर्वाचन आयोगलाई राष्ट्रिय सभामा थापाको स्थान रिक्त भएको लिखित जानकारी आइतबार नै गराइएको छ ।

यसअघि प्रतिनिधिसभामा अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, कैलाली–३ का गौरीशंकर चौधरी, कैलाली–४ का लेखराज भट्ट र रौतहट–३ का प्रभु साहको सांसद पद खारेज भएको थियो । माओवादी केन्द्रबाट निर्वाचित उनीहरू मन्त्री छन् । रायमाझीले ऊर्जा, भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

संसद् नभए पनि ६ महिनासम्म मन्त्री बन्न पाइने संवैधानिक व्यवस्थाअनुसार थापासहित सबैलाई मन्त्रीमा पुनः नियुक्त गरिएको हो । उनीहरू सबै एमालेको केन्द्रीय सदस्यमा मनोनयन भइसकेका छन् । माओवादी छाडेर एमालेमा लागेपछि प्रदेश १ का टंक आङ्बुहाङ, प्रदेश २ का ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समीर र रामचन्द्र मण्डलको पनि सांसद पद खारेज भइसकेको छ । कान्तिपुर दैनिकमा खबर छ । 

 

प्रतिक्रिया दिनुहोस