वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सीमा क्षेत्रमा ध्यान नदिँदा कोरोना संक्रमण समुदायमा फैलिएको बताएका छन् । संक्रमण नियन्त्रणका लागि सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने उनको भनाइ छ ।
‘बोर्डरमा कमी कमजोरी भएपछि वीरगञ्जमा संक्रमण समुदायमा पुग्ने गरेको छ र वीरगञ्जबाट नै देशका अन्य भूभागमा फैलने गरेको छ,’ उनले भने, ‘यताका उता जाने, उताका यता आउने चलिरहन्छ, सस्तो समान किन्न रक्सौल जाने चलन छ, त्यसै क्रममा संक्रमण पनि भित्रिन्छ, तसर्थ बोर्डरमा बढी नै ध्यान दिनुपर्छ ।’
जिल्ला समन्वय समिति पर्साको सभाहलमा भएको छलफलमा मुख्यमन्त्री राउतले कोभिड महामारीविरुद्ध आवश्यक तदारुकता देखाउन सरोकारवालालाई आग्रहसमेत गरेका छन् । उनले जनताको जीवन रक्षाका लागि कडा रुपमा प्रस्तुत हुन आग्रह गरे ।
‘कतिपय मानिसले मास्क पनि किन्दैनन्, मास्क बाँड्नुस् न उनीहरुलाई, मास्क, पीपीई कति चाहिन्छ भन्नुस् प्रदेश सरकारले बन्दोबस्त गर्छ, महामारीमा खट्ने जनशक्तिको समस्या छ भने समाधानका लागि पहल गर्छौ,’ उनले भने, ‘कोरोनाको अर्को स्वरुप आइसकेको छ, स्थिति भयावह छ । तर यसपालि हामीसँग विगतको अनुभव छ । अझ सशक्त भएर संघ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्दा समस्या समाधान गर्न सकिन्छ ।’
उनले मुलुकमा संकट पर्दा नसघाउने निजी अस्पतालको दर्ता खारेजीको प्रक्रिया शुरु गर्नुपर्ने बताए । प्रदेश सरकारले प्रत्येक जिल्ला अस्पताललाई एम्बुलेन्स र शवबाहन खरिद गर्न रकम दिएको भए पनि कतिपय जिल्लामा रकम नै खर्च गर्न नसकेको समेत बताए ।
छलफलमा मुख्य सचिव गोकर्णमणि दुवाडीले कोरोना भाइरसको संक्रमण रोक्न स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न लगाउनुपर्ने र अटेर गरेको खण्डमा ढण्डा चलाउनुपर्ने सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ बैशाख २०७८, १९ : ०४
लेखकबाट थप