कञ्चनपुर । कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि भएको छ । गत वर्षको तुलनामा वन क्षेत्रमा अधिक आगलागी भएको पाइएको छ । सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र अगालगीको चपेटामा परेको हो । वन क्षेत्रमा आगलागी हुँदा लाखौँ मूल्यको काठ जलेर नष्ट भएको छ । आगलागीका कारण बासस्थान नासिँदा वन्यजन्तु मानवबस्तीतर्फ आउने र मारिने क्रमसमेत बढेको छ ।
वन क्षेत्रमा अधिकांश आगलागीका घटना मानवीय कारण हुने गरेका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीका अनुसार ९९ प्रतिशत आगलागीका घटना मानवीय कारण हुने गरेका छन् भने एक प्रतिशत घटनामात्रै प्राकृतिक कारणले हुने गरेको छ । चुरोटका ठुटा, सलाइका काँटी वन क्षेत्रमा फाल्दा र गोठालाले जानीजानी आगो लगाउँदा तथा वन क्षेत्रमा वनभोज जानेले खाना पकाइसकेपछि आगो ननिभाउनेलगायत कारणले आगलागीका घटना हुने गरेका छन् ।
“गत वर्ष १५० हेक्टर वन क्षेत्रमा मात्रै आगलागी भएको थियो”, डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी अवस्थीले भने , “यस वर्षको अहिलेसम्म २०० हेक्टर वन क्षेत्रमा आगलागी भइसकेको छ । गर्मी मौसम अझै बाँकी रहेकाले हावाहुरी चल्ने क्रमसँगै आगलागीका घटनामा वृद्धि हुनसक्ने देखिएको छ ।” पानी नपरेका कारण पनि आगलागीका घटनामा वृद्धि हुँदै जान थालेको उनले बताए । सामुदायिक वनका पदाधिकारी, प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली वन क्षेत्रमा लागेको आगो निभाउने कार्यमा सक्रियरूपमा लागेका छन् ।
हालसम्म ३० भन्दा बढी सामुदायिक वन, लालझाडी संरक्षित वन, राष्ट्रिय वन क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रमा आगलागीका कारण व्यापक क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २७ चैत्र २०७७, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि