काठमाडौँ । सर्लाही, लालबन्दीकी २५ वर्षीया सोनु यादव (परिवर्तित नाम) मधुमेह रोगी हुन् । मिर्गौलासमेत बिग्रिएर वीर अस्पतालमा डायलसिस सुरु गरेपछि डाक्टरले उनलाई वडाको सिफारिस ल्याए निःशुल्क हुने बताए । तर उनले आमाको नामबाट नागरिकता बनाउन पाऊँ भन्दै सर्वोच्चमा दायर गरेको रिटको पेसी आउँदो असार १ गतेमात्रै छ । त्यसैले नेपाली भईकन पनि उनले राज्यले दिने सुविधा पाउन सकिनन् ।
नागरिकता नभएकै कारण रोजगारीसमेत नपाएकी उनले यसकै कारण राज्यले दिने स्वास्थ्य सुविधाबाट पनि वञ्चित हुनुपर्यो । नागरिकतामात्रै भइदिएको भए साताको दुईपटक डायलसिस गर्दा वीर अस्पताललाई तिर्नुपर्ने ८ हजार शुल्क मिनाहा हुन्थ्यो । काठमाडौं फर्पिङकी २८ वर्षीया सोनिका लामा ९परिवर्तित नाम० लाई ६ महिनाअघि उनी कार्यरत ससेज फ्याक्ट्रीले कामबाट निकालिदियो । बुबाको पहिचान नभएको भन्दै राज्यले नागरिकता नदिँदाको पीडा त छँदै थियो, तलब बैंक खातामै हालिदिने र त्यसका लागि अनिवार्य प्यान कार्ड चाहिने राज्यकै नीतिका कारण उनले जागिर गुमाइन् । सोनुलाई अहिले जीवन चलाउन थप मुस्किल परिरहेको छ ।
आमाका नामबाट वंशज, जन्मसिद्ध बाबुका छोराछोरी तथा बुबा विदेशी र नेपाली आमाका नामबाट अंगीकृत लिनुपर्नेहरू राज्यको असंवेदनशीलताका कारण नागरिक बन्न नसकेपछि त्यसले निम्त्याइरहेको पीडा भयावह छ । तर यी पीडालाई केही हदसम्म भए पनि सम्बोधन गर्न सक्ने ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ संसद्मा पुगेर अड्केको अड्क्यै छ । नागरिकता पाऊँ भनेर दिइएका निवेदन संसद्बाट विधेयक पारित नभएकै बहानामा प्रशासन कार्यालयहरूमा पनि अड्किइरहेका छन् ।
काठमाडौं जिल्ला प्रशासनमा मात्रै आमाका नामबाट र बाबुआमा दुवैको पहिचान नभएका नेपालीले नागरिकता पाऊँ भनी दिएका १४ वटा निवेदन वर्षौंदेखि थन्किएका छन्, नागरिकता पाउन आवश्यक सबै प्रक्रिया र कागजात हुँदाहुँदै पनि नागरिकता लिन नसकेका अरू कति त्यस्ता व्यक्ति छन्, गृह मन्त्रालयसँग यकिन तथ्यांक छैन । अरू गैरसरकारी संस्थाहरूको तथ्यांकमा भने संशोधित कानुन पारित नभएकाले र भएका कानुनका आधारमा नागरिकता दिन प्रशासन कार्यालयहरूले आनाकानी गरिदिएकाले नागरिक हुन पाउने करिब ६७ लाख नेपालीको अधिकार कुण्ठित भइरहेको छ । जबकि संविधान र मुलुकको कुनै पनि कानुनले नागरिकतासम्बन्धी मौलिक अधिकारलाई बन्देज गरेको छैन ।
महिला, कानुन र विकास मञ्चले २०७२ मा गरेको अध्ययनअनुसार नेपालमा नागरिकता नभएकाको संख्या ४६ लाख थियो । २०७८ सम्ममा यो संख्या ६७ लाख १४ हजार पुग्ने अध्ययन मञ्चले त्यतिखेरै गरेको थियो तर कानुनले सहज बनाइदिए यत्तिका संख्यामा नागरिक नागरिकताविहीन हुँदैनथे भन्ने तथ्यलाई कहिले संसद् र कहिले सरकारले नजरअन्दाज गरिदिँदा नागरिकताको समस्या दिनदिनै बढिरहेको हो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २३ चैत्र २०७७, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिकता विधेयक प्रमाणीकरण विवाद : रिट निवेदकको बहस सकियो
नागरिकता विधेयकको पक्षमा भएको धर्नामा पुगे प्रदीप यादव
नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
यस्ता छन् राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा नयाँ व्यवस्था
नागरिकता विधेयक विरुद्ध सर्वोच्चमा रिट