खलङ्गा । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ ।
नयाँ वर्ष लाग्न केही दिन बाँकी भएसँगै हवाई र सडकमार्गबाट रारा आउने पर्यटकको सङ्ख्या बढेको हो । रारा क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको रारा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी यज्ञराज रोकायाले बताए । “मिलीचौर, सल्लेरी, ताल्चलगायत गाउँमा पर्यटकको घुइँचो लाग्न थालेको छ”, उनले भने, “काठमाडौँ, भक्तपुर, पोखरा, विराटनगरलगायत ठाउँबाट समूहमा रारा घुम्न आउने बढिरहेका छन्, पर्यटक बढेपछि बासको समस्या हुन थालेको छ ।”
रारा वरिपरि दुई पर्यटकीय होटलसहित माझघट्ट घरवास सञ्चालन भए पनि पर्याप्त पर्यटक राख्न समस्या छ । राम्रो होटेल नहुँदा बस्नै समस्या भएको रारा घुम्न आएका नेपालगञ्जका रवीन दाहालले बताए । रारामा पर्यटक बढेपछि होटल र घोडा व्यवसायी तथा डुङ्गा चालकलाई समेत भ्याइनभ्याई हुन थालेको छ । घोडामार्फत पर्यटकलाई मुर्मा, झ्यारी, पिना, सिगाडी, माथितुमलगायत गाउँमा घुमाउने गरिएको स्थानीयवासी भक्त रोकायाले बताए ।
नयाँ वर्षको अवसर पारेर चैत महिनाको दोस्रो साताबाट रारा घुम्न आउने पर्यटक सङ्ख्या बढ्न थालेको निकुञ्जका सूचना अधिकारी रोकायाले बताए । उनले भने , “चालु आर्थिक वर्षको आठ महिनामा चार हजार ४०९ आन्तरिक तथा बाह्य पर्यटकले रारातालको अवलोकन तथा भ्रमण गरेका छन् । तीमध्ये सात विदेशी पर्यटक रहेका छन्, बाँकी नेपाली पर्यटक छन् ।”
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २२ चैत्र २०७७, ११ : ०२
लेखकबाट थप