ओली सरकार धरापमा, माओवादी केन्द्रले समर्थन फिर्ता लिने अन्तिम तयारी

सफल खबर संवाददाता

आइतबार, २२ चैत्र २०७७, ०८ : १८
ओली सरकार धरापमा, माओवादी केन्द्रले समर्थन फिर्ता लिने अन्तिम तयारी

काठमाडौं । वर्तमान केपी ओलीको सरकार धरापमा पर्ने सङ्केत देखिएको छ । माओवादी केन्द्रले दिएको समर्थन फिर्ता भएसँगै केपी ओली नेतृत्वको सरकार अल्पमतमा पर्छ ।

माओवादी केन्द्रको आज बस्ने स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल गर्ने छ । माओवादी केन्द्रका एक नेताले भने, ‘सम्भवत, आज ११ बजे बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ ।’

नयाँ सरकार गठनबारे छलफल हुने ती नेताले बताए । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलका अनुसार नयाँ सरकार गठनमा भइरहेको पहल र पार्टीको विधान प्रतिवेदनबारे छलफल हुनेछ । माओवादीले समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनुपर्छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसके नयाँ सरकार गठनको प्रकृया सुरु हुनेछ ।

केन्द्रका अध्यक्ष प्रचण्डले अब छिट्टै नयाँ सरकार गठन हुने सार्वजनिक अभिव्यक्ति दिएका छन् । कांग्रेसले प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न भनेपछि देशको राजनीतिमा नयाँ अध्याय सुरु भएको केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् ।

माओवादी केन्द्रले आइतबार जनता समाजवादी पार्टी जसपासँग छलफलसमेत गर्दैछ । अंक गणितको हिसाबले जसपा सत्ता गठबन्धनमा निर्णायक तहमा छ । जसपाका एकथरि नेताहरु केपी ओली पक्षमा देखिएका छन् भने अर्कोथरि नेता ओलीको विपक्षमा देखिएका छन् । 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले नयाँ सरकार गठनमा अग्रसरता लिने औपचारिक निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस