परिवर्तनको प्रक्रिया उल्ट्याउन खोजियो : अध्यक्ष दाहाल

रासस

शुक्रबार, २० चैत्र २०७७, १८ : ५०
परिवर्तनको प्रक्रिया उल्ट्याउन खोजियो : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको सात दशकदेखिको सङ्घर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिएको बताउनुभएको छ । 

पछिल्ला दिनमा केही मानिसले देखाएको व्यवहार चरम निरङ्कुश भएको टिप्पणी गर्दै उहाँले परिवर्तनले स्थापित गरेका मूल्य तथा मान्यता उल्ट्याउन भइरहेको प्रयास जनताले परास्त गर्ने उल्लेख गर्नुभयो । 

प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जलीसभालाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “नेपाली जनताको सात दशक लामो सङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउन खोजिँदैछ । ” 

उहाँले लोकतन्त्रका मूल्य मान्यता र आन्दोलनका उपलब्धि, शहीदले बगाएको रगतलाई अपमान गर्ने र समाजलाई नकारात्मक दिशातिर लैजाने प्रयास भएको बताउनुभयो । अध्यक्ष दाहालले गत पुस ५ गते संसद् विघटन गरेर त्यसको सङ्केत दिएको भन्दै आन्दोलनको बलमा संसद् पुनःस्थापना भए पनि खतरा अझै टरिनसकेको स्पष्ट पार्नुभयो । 

उहाँले नियम, मूल्य र मान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने विडम्बनाको सामना गर्नुपरिरहेको भन्दै यस्तो अवस्थामा श्रेष्ठको जीवनबाट शिक्षा लिने बेला भएको बताउनुभयो ।

प्रतिगमनका विरुद्ध एक भएर जान र आवश्यक परे आन्दोलन गर्न पनि पछि पर्न नहुने उहाँको भनाइ थियो । स्व  श्रेष्ठको व्यक्तित्वको प्रशंसा गर्दै उहाँ स्मरण गरिरहनुपर्ने खालको व्यक्तित्व रहेको बताउनुभयो । उहाँले वर्तमान परिस्थितिमा उनको जीवनीबाट निकै शिक्षा लिनुपर्ने धारणा राख्नुभयो । 

प्रतिक्रिया दिनुहोस